राजनीति

    आँखा र कान खुल्लै राखौ प्रतिक्रियावादीको षडयन्त्र सकिएको छैन

    जगत ठाडा मगर
    २०७८ कार्तिक १५ | मध्यान्ह ०६:०७ बजे

      काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताउँदै अझै पनि आँखा र कान खुल्लै राख्नुपर्ने बताएका छन् ।

      सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दसैँ, तिहार छठ तथा नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौँ षडयन्त्रहरू भइरहेको बताएका हुन् ।

      वर्तमान गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भइरहेको र यसका लागि गठबन्धनभित्र वैचारिक र राजनीतिकरुपले कमजोर पात्रलाई प्रयोग गर्नका लागि खोजी भइरहेको पनि उनले दाबी गरे । वैदेशिक शक्तिहरू गठबन्धन कमजोर पार्ने उपायको खोजीमा लागिरहेको पनि उनले दाबी गरे । उनले भने – ‘षड्यन्त्र सकियो, अब हामी पुरै विजयी भइसक्यौँ भन्न सक्ने स्थिति अझै पनि छैन ।

      यो गठबन्धन तोड्नको लागि अनेक षड्यन्त्र र हतकन्डाहरु अपनाइराखिएकै छ । फेरि पनि प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत चलिराखेकै छ । गठबन्धनभित्र अलिअलि कमजोर को छ वैचारिक, राजनीतिक रूपले । या अन्य राजनीतिक स्वार्थको हिसाबले त्यसको खोजी भइनै राख्या छ ।

      यहाँ भित्र अर्को त्यस्तो निरङ्कुश प्रवृत्तिको कोही मान्छे भेटिन्छ कि र त्यसलाई प्रयोग गर्न सकिन्छ कि भन्ने कसरत भइनैराख्या छ । त्यस कारण कर्मचारी साथीहरू तपाई हामी सबैले अहिले पनि आँखा खुल्लै राख्नुपर्ने, कान खुल्लै राख्नुपर्ने, कहाँ कति बेला कसले के गर्छ भन्ने कुरालाई हेक्का राख्नैपर्ने स्थिति छ ।’

        कमेन्टहरु