शिक्षा

    सुरक्षाको माग गर्दै जनकपुरमा शिक्षकद्वारा प्रदर्शन

    जगत ठाडा मगर
    २०७८ कार्तिक १५ | मध्यान्ह ०३:०७ बजे

      जनकपुरधाम, १५ कात्तिक । धनुषाका एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जिल्लाभरका शिक्षक आन्दोलनमा उत्रिएका छन् । सोमबार धनुषका शिक्षकहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

      रेल्वे स्टेशनबाट निकालिएको विरोध ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । उनीहरुले ‘शान्ति सुरक्षा कायम गर’, ‘दोषीलाई कारबाही गर’, जनमत पार्टी मुर्दावाद लगायतका नारा लगाएका थिए । चार दिनअघि डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै शिक्षकहरु आन्दोलित भएका छन् ।

      प्रदर्शनपछि दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
      सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरूले १२ कार्तिकमा दुर्व्यवहार गरेका थिए । विद्यालयबाट मोटरसाइकलमा बाहिरिने क्रममा विद्यार्थीले पठन–पाठन नगराएको, अनावश्यक शुल्क लिएको आरोप लगाउँदै प्रधानाध्यापक साहलाई कालोमोसो फाल्दै चप्पलले समेत हिर्काएका थिए ।

      घटनापछि नेपाल शिक्षक महासंघले आन्दोलन परिचालन समिति गठन गरी आन्दोलन सुरु गरेको हो । प्रधानाध्यापक साहमाथि दुर्व्यवहार गर्नेलाई कारबाही नगरिए आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।

        कमेन्टहरु