पूर्व आईजीपी बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना युवा पक्राउ


काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना युवाहरु पक्राउ परेका छन् ।
नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको निवास र अन्य १० ठाउबाट यही असोज १ गते एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा रामेछापका सन्जिव खड्का, मकवानपुरका रोज राई, काभ्रेका यमबहादुर तामाङ, मकवानपुरका राजीव गुरुङ, काभ्रेका देव तामाङ, रामेछापका निरज नेपाली, काभ्रेका मिलन दुलाल, काभ्रेका समीर तामाङ, मोहित दाहाल, प्रदीप यादव, शंकर खडायत लगायत छन् ।
अनुसन्धानको क्रममा उनीहरु तीन वर्षदेखि चोरीमा संलग्न रहँदै आएको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले बुद्धनगर, बानेश्वर, थापागाउँ, नक्शाल, चन्डोल लगायतका स्थानबाट एभोकाडो चोरेर बेच्ने गरेको पाइएको प्रहरीको जनाएको छ ।





