बुबाको स्मृतिमा बाढीपीडितलाई शर्माद्वारा आर्थिक सहयोग


नवलपरासी, भदौ १९ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५, परासीका निवासी अनिल शर्माले देशका बाढीपीडितहरूको राहत तथा उद्धारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
संस्कृति सम्पदा संरक्षण महाअभियान पश्चिम नवलपरासीका संयोजक समेत रहनुभएका शर्माले आफ्ना स्वर्गीय बुबा दामोदर शर्माको सम्झनामा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ हजार १ सय ११ रुपैयाँ (रु. ५१,१११) जम्मा गर्नुभएको हो।
पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै शर्माले उक्त सहयोग रकम कोषमा जम्मा गरेको औपचारिक जानकारी गराउनुभयो । प्राकृतिक विपत्तिका कारण धेरै नागरिकले ज्यान गुमाउनुका साथै घरबारविहीन हुनुपरेको यस दुःखद घडीमा थोरै भए पनि मलम लगाउने उद्देश्यले आफूले उक्त सहयोग गरेको उहाँले बताउनुभयो।
सोही अवसरमा बोल्दै उहाँले विपद्को यस कठिन परिस्थितिमा मानवीय दायित्व सम्झेर स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सहयोगका लागि हातेमालो गर्न हार्दिक अपिल समेत गर्नुभएको छ। शर्माले भन्नुभयो, “विपद् बाजा बजाएर आउँदैन, यस्तो बेलामा हामी सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु नै साँचो अर्थमा मानव धर्म हो।”
शर्माको यो कदमले समाजमा विपद्को बेला एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ र अन्य व्यक्तिहरूलाई पनि परोपकारी कार्यमा जोडिन प्रेरित गरेको छ।





