धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन, मुख्य समाचार, समाचार
लोक देउडा स्टुडियो : सुदूरपश्चिम–कर्णालीका आवाज, कला, संस्कृति र पहिचानको साझा चौतारी


काठमाडौ, भदौ १८ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधताले भरिएको देश हो। नेपालको हरेक भूगोलको आफ्नै भाषा, भेषभूषा, संस्कार, परम्परा, लोककला, लोकसाहित्य र लोकसंगीत छ। यही विविधताभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशको कला, संस्कृति र लोकसंगीतको आफ्नै विशिष्ट पहिचान रहेको छ। विशेषगरी देउडा, ठाडी भाका, मागल, हुड्के, झोडा, चैत, फाग, धमारी लगायतका मौलिक लोकभाका र परम्परागत गीतहरू सुदूरपश्चिम तथा कर्णालीको सामाजिक जीवन, इतिहास र पुस्तौँदेखिको सांस्कृतिक विरासतसँग जोडिएका छन्।
यी गीतहरू केवल मनोरञ्जनका माध्यम होइनन्। यी गीतभित्र हाम्रा पुर्खाको इतिहास छ, समाजको चित्रण छ, दुःख–सुखका कथा छन्, प्रेम र सम्बन्धका भावना छन्, सामाजिक चेतना छ, संघर्ष छ, पीडा छ र हाम्रो मौलिक पहिचान छ। त्यसैले यस्ता कला र संस्कृतिको संरक्षण गर्नु केवल कलाकारको जिम्मेवारी होइन; यो सम्पूर्ण समाज, स्थानीय तह, प्रदेश सरकार, राज्यका सम्बन्धित निकाय, सञ्चारकर्मी, संस्कृतिकर्मी र नयाँ पुस्ताको साझा दायित्व हो।
यही आवश्यकता र जिम्मेवारीलाई आत्मसात् गर्दै लोक देउडा स्टुडियोको स्थापना गरिएको हो।
हाम्रा आवाजलाई राष्ट्रिय मञ्चसम्म पुर्याउने अभियान
सुदूरपश्चिम र कर्णालीका धेरै प्रतिभाहरू आज पनि गाउँघरमै सीमित छन्। उनीहरूसँग प्रतिभा छ, मौलिक सिर्जना छ, आवाज छ, कला छ, तर त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उचित अवसर र माध्यमको अभाव छ।
काठमाडौँ देशको राजधानी मात्र होइन, कला, साहित्य, संगीत, सञ्चार र सिर्जनाको प्रमुख केन्द्र पनि हो।
त्यसैले काठमाडौँमा बसेर सुदूरपश्चिम र कर्णालीका आवाजलाई राष्ट्रियस्तरमा पुर्याउने, लुकेका प्रतिभालाई अवसर दिने र हाम्रा मौलिक गीत–संगीतलाई व्यापक दर्शक तथा श्रोतामाझ पुर्याउने उद्देश्यले लोक देउडा स्टुडियोलाई एउटा सांस्कृतिक चौतारी र सिर्जनाको साझा मञ्चका रूपमा विकास गर्ने प्रयास गरिएको छ।
काठमाडौँका गल्ली–गल्लीदेखि मेची–महाकालीसम्म, पूर्वको काँकडभिट्टादेखि पश्चिमका दुर्गम गाउँबस्तीहरूसम्म हाम्रा लोकभाका र लोकगीतहरू गुन्जिनुपर्छ। नेपाली जहाँ छन्, त्यहाँ हाम्रो देउडा पुग्नुपर्छ। नेपालभित्र मात्र होइन, विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदायसम्म पनि हाम्रो मौलिक संस्कृति र सिर्जनाको आवाज पुग्नुपर्छ।
वि.सं. २०७८/७९ देखि निरन्तर प्रयास वि.सं. २०७८/७९ सालदेखि विभिन्न प्रतिभा तथा नवप्रतिभाका आवाजलाई संस्थागत गर्दै अघि बढ्ने हाम्रो प्रयास निरन्तर जारी छ। यो यात्रा सहज थिएन। सीमित स्रोतसाधन, आर्थिक चुनौती, प्राविधिक कठिनाइ र अनेकौँ व्यावहारिक समस्याका बीच पनि मौलिक लोकसंस्कृति प्रतिको प्रेम र विश्वासका कारण हामी निरन्तर अगाडि बढिरहेका छौँ।
मैले आफ्नै लगानी, मेहनत, समय र निरन्तर प्रयासबाट लोक देउडा स्टुडियो स्थापना गरेको हुँ। यसको उद्देश्य केवल व्यापार वा व्यावसायिक आम्दानी गर्नु मात्र होइन। यसको मूल उद्देश्य हाम्रो कला, हाम्रो संस्कृति, हाम्रा सर्जक र हाम्रा प्रतिभालाई एउटा व्यवस्थित माध्यम प्रदान गर्नु हो। त्यसैले लोक देउडा स्टुडियोलाई एउटा सामान्य रेकर्डिङ स्टुडियोको रूपमा मात्र बुझ्नु हुँदैन। यो लुकेका कला र गलाका प्रतिभाहरूका लागि चौतारी हो, सिर्जनाका लागि मञ्च हो, अग्रज सर्जकहरूको सम्मान गर्ने थलो हो र नयाँ पुस्तालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिने सांस्कृतिक घर हो।
लोप हुँदै गएका मौलिक भाकाको संरक्षण
आज आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीका कारण धेरै पुराना लोकभाका, गीत, कथा, परम्परा र सांस्कृतिक अभ्यासहरू क्रमशः ओझेलमा पर्दै गएका छन्। कतिपय मौलिक गीतहरू गाउने कलाकारहरू वृद्ध हुँदै जानुभएको छ, कतिपय सर्जकका सिर्जनाहरू अभिलेखीकरण हुन सकेका छैनन् र नयाँ पुस्ताले ती भाका तथा परम्परालाई पर्याप्त रूपमा जान्न पाएको छैन।
यदि आज हामीले संरक्षण गरेनौँ भने भोलि हाम्रा सन्ततिले आफ्नै संस्कृति खोज्नुपर्ने अवस्था आउन सक्छ।
त्यसैले पुराना सर्जक, पुराना भाका र पुराना सिर्जनालाई सम्मान गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु लोक देउडा स्टुडियोको महत्वपूर्ण उद्देश्य हो।
चेली माइती जाँदा गुञ्जिने गीत, बनपाखामा घन्किने भाका, मेलापातमा गाइने गीत, विवाह तथा विभिन्न संस्कारमा गाइने मागल, गाउँघरका उत्सवमा बज्ने हुड्के तथा धमारीका ताल—यी सबै हाम्रो जीवन्त सांस्कृतिक इतिहास हुन्। हाम्रा आमाहरूले गाएका गीत, हाम्रा दिदीबहिनीहरूले गाएका भाका, हाम्रा बाजे–बज्यैका कथा र हाम्रा पुर्खाले संरक्षण गरेर ल्याएका परम्पराहरूलाई डिजिटल माध्यमबाट अभिलेखीकरण गर्नु आजको आवश्यकता हो।
नवप्रतिभाको खोजी र अवसर सुदूरपश्चिम र कर्णालीमा हजारौँ प्रतिभाहरू छन्। गाउँमा बसेर उत्कृष्ट गीत गाउने, सिर्जना गर्ने, बाजा बजाउने, कविता लेख्ने, लोकभाका संरक्षण गर्ने तथा नयाँ सिर्जना गर्न सक्ने धेरै प्रतिभाहरू उचित अवसरको पर्खाइमा छन्।
लोक देउडा स्टुडियोले त्यस्ता लुकेका कला र गला भएका प्रतिभाहरूलाई खोज्ने, उनीहरूलाई अवसर दिने र राष्ट्रिय दर्शक तथा श्रोतासम्म पुर्याउने प्रयास गर्नेछ। नयाँ पुस्ताले आफ्नो प्रतिभा देखाउन काठमाडौँ नै आउनुपर्ने बाध्यता नहोस् भन्ने हाम्रो चाहना हो। डिजिटल प्रविधिको प्रयोग गरेर गाउँबाटै सिर्जना र प्रतिभालाई विश्वसम्म पुर्याउन सकिन्छ।
हामी नवप्रतिभालाई केवल गीत गाउने अवसर मात्र होइन, उनीहरूको सिर्जनालाई सम्मान, प्रचार–प्रसार र आवश्यक मार्गदर्शन प्रदान गर्ने वातावरण बनाउन चाहन्छौँ।
अग्रज सर्जकको सम्मान नयाँ पुस्तालाई अगाडि बढाउनु जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण हाम्रा अग्रज सर्जकहरूको सम्मान गर्नु हो। आज हामीले जुन लोकभाका सुन्न पाएका छौँ, त्यसका पछाडि हाम्रा अग्रज कलाकार, गायक, गायिका, गीतकार, संगीतकार, वाद्यवादक, संस्कृतिकर्मी र समाजका अनेकौँ व्यक्तिहरूको योगदान छ। त्यसैले लोक देउडा स्टुडियोले अग्रज सर्जकहरूको सम्मान, उनीहरूको योगदानको अभिलेखीकरण र





