भारी वर्षाले छायानाथ रारा–१० का तीन बस्तीमा ठूलो क्षति, पशुचौपाया र घट्ट बग्यो

मुगु । छायानाथ रारा नगरपालिका–१० का जिउला, गाडपानी र चराप बस्तीमा भारी वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्याएको छ।बाढीले स्थानीयका करिब ५० वटा बाख्रा, गाई, गोरु तथा भैंसी बगाउनुका साथै पानी घट्टसमेत बगाएको स्थानीयले बताए।
त्यस्तै, बस्तीमा खानेपानी आपूर्ति हुँदै आएको करिब २०० मिटर पाइप बाढीले बगाएपछि तीनवटै बस्तीमा खानेपानीको हाहाकार भएको छ। खानेपानी, पशुपालन तथा अन्न पिस्ने घट्टमा क्षति पुगेपछि स्थानीयको दैनिक जीवन र जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ।
स्थानीय बगली बहादुर बुढाका अनुसार भारी वर्षापछि खोलाको बहाव एक्कासी बढ्दा ठूलो क्षति भएको हो। उनले तत्काल खानेपानीको पाइप मर्मत वा नयाँ पाइप जडान गर्नुपर्ने तथा पशुचौपाया र अन्य क्षतिको मूल्याङ्कन गरी प्रभावित परिवारलाई राहत उपलब्ध गराउन माग गरेका छन्।
बाढीबाट भएको वास्तविक क्षतिको विवरण भने स्थलगत निरीक्षणपछि मात्र यकिन हुने स्थानीयले बताएका छन्।





