प्रबास

    असद शासनकालमा सिरियामा आणविक रिएक्टर बनाएको पुष्टि

    एजेन्सी
    २०८३ भदौ १७ | मध्यान्ह ०२:०५ बजे

      दमास्कस । पूर्वराष्ट्रपति बसर अल–असदको शासनकालमा पूर्वी सिरियाको देर अज जोरमा आणविक रिएक्टर निर्माण गर्न खोजिएको संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले पुष्टि गरेको छ । आईएईएले मङ्गलवार सार्वजनिक गरेको गोप्य प्रतिवेदनका अनुसार एजेन्सीको टोलीले अगस्टमा सिरियाका विभिन्न स्थानको भ्रमण गरी निरीक्षण तथा प्रमाणीकरणको काम गरेको थियो ।

      देर अज जोरमा रहेको एक स्थानको निरीक्षणपछि त्यहाँ फेला परेको शीतलीकरण संरचना आणविक रिएक्टरमा प्रयोग हुने संरचनासँग मेल खाने आईएईएले जनाएको छ । उक्त स्थानमा उत्खननको काम अघि बढ्दै गर्दा एजेन्सीले गतिविधिको निगरानी जारी राख्ने जनाएको छ । असद शासनका बेला सिरियाले गोप्य रूपमा व्यापक आणविक कार्यक्रम सञ्चालन गरेको शंका लामो समयदेखि गरिएको थियो । उक्त कार्यक्रमअन्तर्गत उत्तर कोरियाको सहयोगमा देर अज जोरमा आणविक रिएक्टर बनाएको ठानिएको थियो ।

      यो आणविक केन्द्र सन् २००७ मा सार्वजनिक जानकारीमा आएको थियो । त्यतिबेला इजरायलले हवाई आक्रमण गरी उक्त संरचना ध्वस्त बनाएको थियो । त्यसपछि सिरियाले उक्त स्थल समतल बनाएको थियो । उसले आईएईएका प्रश्नहरूको पूर्ण रूपमा जवाफ पनि दिएको थिएन । आईएईएले सन् २०२४ मा उक्त स्थानबाट नमुना संकलन गरेको थियो । त्यसको परीक्षणमा युरेनियमका कण भेटिएको एजेन्सीले गत वर्ष जनाएको थियो । नयाँ प्रतिवेदनमा आईएईएले तत्कालीन सिरियाली अधिकारीहरूले आणविक सामग्री, सुविधा तथा गतिविधिबारे एजेन्सीलाई जानकारी नदिएको पनि पुष्टि गरेको छ ।

      एजेन्सीका अनुसार देर अज जोरमा निर्माणाधीन रिएक्टरबाहेक त्यसका लागि आवश्यक आणविक इन्धन उत्पादन गर्ने कारखाना पनि सिरियाको आणविक कार्यक्रमको हिस्सा थियो । त्यस्तै, आणविक इन्धन, युरेनियमबाट निस्किएको फोहोर तथा अन्य अवशेष भण्डारण गर्ने स्थानसमेत पहिचान गरिएको छ । सन् २०२४ को डिसेम्बरमा असद सत्ताच्युत भएपछि बनेको नयाँ सिरियाली सरकारले शंकास्पद पूर्वआणविक स्थलमा आईएईएका निरीक्षकलाई प्रवेश दिने सहमति गरेको थियो । त्यसपछि एजेन्सीले सिरियामा निरीक्षणलाई तीव्रता दिएको हो । आईएईएका महानिर्देशक राफेल ग्रोसीसहित वरिष्ठ निरीक्षकहरूको टोलीले सिरियाको भ्रमणका क्रममा यसअघि घोषणा नगरिएको अर्को स्थलको समेत निरीक्षण गरेको थियो ।

        कमेन्टहरु