कामको बोझबाट बच्न छानबिनै नगरी बेपत्ता व्यक्तिका मुद्दा बन्द गर्ने प्रहरी पक्राउ


सोल । दक्षिण कोरियामा कामको अतिरिक्त बोझबाट बच्न बेपत्ता व्यक्तिका मुद्दा अनुसन्धान नै नगरी बन्द गरेको आरोपमा एक प्रहरी अधिकारी पक्राउ परेका छन् । जेजु प्रान्तमा कार्यरत बु थरका ती प्रहरी अधिकारीले बेपत्ता व्यक्तिका परिवारलाई आफूले उनीहरूसँग सम्पर्क गरेको झुटो जानकारी दिएर मुद्दा बन्द गरेको अनुसन्धानबाट खुलेको हो ।
प्रहरीका अनुसार बुले कम्तीमा दुई चर्चित बेपत्ता घटनामा झुटो विवरण राखेर मुद्दा बन्द गरेका थिए । उनीमाथि विद्युतीय अभिलेखमा किर्ते गरेको, सरकारी काममा अवरोध पुर्याएको र कर्तव्य पालना नगरेको आरोपमा मुद्दा चलाइएको छ । अनुसन्धानका क्रममा बुले बेपत्ता व्यक्तिको खोजी नगरी मुद्दा टुंग्याएको स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयानमा उनले बेपत्ता व्यक्ति वयस्क भएकाले घटनालाई गम्भीर रूपमा नलिएको र मुद्दा खुला राख्दा थप काम गर्नुपर्ने तथा जिम्मेवारी हस्तान्तरणको दबाब हुने भएकाले झुटो विवरण राखेर मुद्दा बन्द गरेको बताएका छन् ।
यस्तै एउटा घटना ३७ वर्षीया जाङ मी–रानसँग सम्बन्धित छ । उनी गत मेमा बेपत्ता भएकी थिइन् । उनका प्रेमीले प्रहरीमा मी–रान हराएको जानकारी गराएका थिए । तर बुले उनका प्रेमीलाई आफूले जाङसँग कुराकानी गरिसकेको र उनी प्रहरीसँग भेट्न वा प्रेमीसँग सम्पर्कमा आउन नचाहेको बताएका थिए । पछि प्रहरीले उक्त जानकारी पूर्ण रूपमा झुटो रहेको पुष्टि गरेको थियो । प्रहरीका अनुसार बुले प्रणालीमा समेत झुटो विवरण प्रविष्ट गरेका थिए । उनले जाङको सडक दुर्घटनामा मृत्यु भएको विवरणसमेत राखेर मुद्दा बन्द गरेका थिए । जाङको शव गत साता जेजुको एक पाम खेती नजिक फेला परेको थियो ।
अर्को घटनामा ६० वर्ष उमेर समूहका एक पुरुष जुलाईमा बेपत्ता भएको जानकारी प्रहरीलाई दिइएको थियो । बुले यस घटनामा पनि ती पुरुषसँग कुराकानी भएको र उनी सम्पर्कमा आउन नचाहेको भन्दै मुद्दा बन्द गरेका थिए । ती पुरुष पनि यसै महिनाको सुरुमा मृत अवस्थामा फेला परेका थिए । बुले थप २५ वटा बेपत्ता व्यक्तिका मुद्दा समयअगावै बन्द गरेको हुन सक्ने आशंका प्रहरीको छ । तीमध्ये केही व्यक्ति भने पछि जीवित र सुरक्षित अवस्थामा फेला परेका थिए ।
यस घटनापछि जेजुमा बेपत्ता व्यक्तिको खोजीलाई लिएर प्रहरीमाथि सार्वजनिक दबाब बढेको छ । पछिल्ला केही सातामा जेजुमा बेपत्ता भएका व्यक्तिका चार शव फेला परिसकेका छन् । दक्षिण कोरियामा हरेक वर्ष ७० हजारभन्दा बढी वयस्क बेपत्ता भएको उजुरी पर्ने गरेको बताइन्छ । तीमध्ये करिब ९९ प्रतिशत घटनालाई एक महिनाभित्र समाधान भएको विवरणमा राखिने गरेको छ ।





