डोनाल्ड ट्रम्पको दाबी इरानद्वारा खण्डन


तेहरान । इरानको प्रमुख तेल केन्द्र खार्ग द्वीप ध्वस्त पारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले खण्डन गरेको छ । ट्रम्पले सामाजिक सञ्जालमा खर्चलाई धुलोपिठो पारिएको एआईबाट बनाइएको भिडियो पोस्ट गर्दै त्यहाँ आक्रमण गर्न लागिएको भनेका थिए । तर, इरानी अधिकारीले ट्रम्पको उक्त दाबीलाई हास्यास्पद भन्दै खारेज गरेका छन् ।
दुवै देशबिच जुलाईयता पहिलो पटक पुनः सैन्य द्वन्द्व सुरु भएको केही घण्टापछि ट्रम्पले उक्त भिडियो पोस्ट गरेका थिए । ट्रम्पको पोस्ट आएको केही घण्टापछि पनि खार्ग द्वीपमाथि आक्रमण भएको कुनै प्रमाण फेला नपरेको रोयटर्सले जनाएको छ । इरानको सरकारी स्वामित्वको नेसनल इरानियन आयल कम्पनीका प्रमुख कार्यकारी अधिकृत हमिद बोवार्डले ट्रम्पको पोस्टलाई हास्यास्पद भन्दै खार्ग द्वीपको अवस्था सामान्य रहेको बताएका छन् ।
‘ट्रम्पका पोस्टहरू हास्यास्पद छन् र खार्गको अवस्था शान्त तथा सामान्य छ,’ उनले भने । तेल उत्पादन तथा सञ्चालनको काम नरोकिएको र कामदारहरू यसअघि भएको क्षतिको मर्मत तथा पूर्वाधार आधुनिकीकरणमा व्यस्त रहेको उनले इरानको सर्वोच्च सुरक्षा निकायसँग निकट अर्धसरकारी सञ्चारमाध्यम नुर न्युजको वेबसाइटमा बताएका छन् ।
ट्रम्पले आइतबार आफ्नो ट्रुथ सोसल अकाउन्टमा थप विवरण नदिई ‘खार्ग द्वीप ध्वस्त पारियो !!! राष्ट्रपति डी.जे.टी.’ लेख्दै उक्त भिडियो पोस्ट गरेका थिए । भिडियोमा देखाइएका नाटकीय विस्फोटका दृश्यहरू वास्तविक नभई कृत्रिम रूपमा तयार पारिएको हुनसक्ने रोयटर्सले जनाएको छ । एआईबाट परिवर्तन गरिएको सामग्री पहिचान गर्ने सफ्टवेयरको प्रयोग गरेर गरिएको परीक्षणले भिडियो सम्भवतः कृत्रिम रूपमा निर्माण गरिएको देखाएको हो ।
युद्ध सुरु हुनुअघि अर्थात् फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गर्नुअघि खार्ग द्वीपबाट इरानको करिब ९० प्रतिशत तेल निर्यात हुने गरेको थियो । त्यसैले खार्गमाथि आक्रमण भएमा ऊर्जा व्यापारमा ठुलो अवरोध आउनुका साथै इरानको अर्थतन्त्रमा समेत गम्भीर दबाब पर्न सक्छ । इरान युद्ध नचाहने तर आफू विरुद्ध हुने कुनै पनि आक्रमणको निर्णायक जवाफ दिने राष्ट्रपति मसुद पेजेस्कियानले बताएका छन् ।
‘हामी कुनै पनि आक्रमणको सामना गर्दा कहिल्यै मौन बस्ने छैनौँ र आक्रमणकारीलाई निर्णायक जवाफ दिनेछौँ,’ किर्गिस्तान भ्रमणमा जानुअघि सोमबार सरकारी सञ्चारमाध्यमले उनको भनाइ उद्धृत गरेको थियो । पेजेस्कियानले यो भनाइ ट्रम्पले खार्ग द्वीपबारे पोस्ट गर्नुअघि भनेका हुन् वा पछि, त्यो स्पष्ट छैन ।
यसअघि अमेरिकाले खार्गभन्दा करिब ६६० किलोमिटर पूर्वमा रहेको लाराक द्वीपमा रकेट प्रक्षेपण केन्द्रमाथि आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानले जोर्डनमा रहेका दुई अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । यूएईस्थित अल मिन्हाद हवाई अड्डामाथि समेत आक्रमण गरेको इरानी सेनाले सोमबार बिहान भनेको थियो ।





