विश्व

    इरानमाथि आर्थिक दबाब बढाउँदै अर्को बैंकलाई प्रतिबन्ध लगाउँदैछ अमेरिका

    एजेन्सी
    २०८३ भदौ १५ | मध्यान्ह ०२:०५ बजे

      वाशिङटन डीसी । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप बढाउने तयारी गरेको छ।  अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई अमेरिकी वित्तीय प्रणालीबाट थप अलग पार्ने उद्देश्यले यसै साता अर्को एउटा बैंकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताएका छन् ।

      आइतबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बेसेन्टले प्रतिबन्धमा पर्ने बैंकको नाम भने खुलाएनन् । इरानको आम्दानीका स्रोत बन्द गर्ने र उसलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग पार्ने अमेरिकी अभियान अझ तीव्र हुने उनले बताए ।

      रोयटर्ससँग कुरा गर्दै बेसेन्टले आगामी दिनमा यस्ता प्रतिबन्ध थप बढ्ने संकेत गरे । उनका अनुसार अमेरिकाले बैंकहरूबाटै कारबाही सुरु गरेको छ र इरानी रकम राख्ने तथा इरानी सरकारलाई सहयोग गर्ने वित्तीय संस्थालाई त्यस्तो गतिविधि रोक्न चेतावनी दिइएको छ । यो घोषणा इजिप्टको दोस्रो ठूलो बैंक बान्क मसरमाथि अमेरिकाले कारबाही अघि बढाएको केही दिनपछि आएको हो । अमेरिकाले उक्त बैंकले इरानी सरकारसँग कारोबार गरेको आरोप लगाउँदै त्यसलाई अमेरिकी वित्तीय प्रणालीबाट अलग गर्ने प्रक्रिया अघि बढाएको थियो ।

      इरानमाथि दबाब कायम राख्न आवश्यक परे कडा वित्तीय कदम चालिने पनि बेसेन्टले बताएका छन् । अमेरिकाले पछिल्लो समय इरानमाथि आर्थिक प्रतिबन्ध थप कडा बनाउँदै आएको छ । गत साता अमेरिकी अर्थमन्त्रालयले इरानलाई तेलबाट आम्दानी गर्न, हतियार खरिद गर्न तथा साइबर गतिविधि सञ्चालन गर्न सहयोग गरेको आरोपमा करिब ६० व्यक्ति तथा संस्थामाथि नयाँ प्रतिबन्ध घोषणा गरेको थियो ।

      इरानलाई दबाब दिन सञ्चालन गरिरहेको अभियानलाई अमेरिकाले अपरेसन इकोनोमिक आउटकास्ट नाम दिएको छ । दुई पक्षबीच युद्धविरामका विषयमा वार्ता अवरुद्ध रहेका बेला अमेरिकाले आर्थिक दबाबलाई थप तीव्र बनाएको हो । तर इरानले अमेरिकी प्रतिबन्धको विरोध गर्दै त्यसबाट आफू नझुक्ने बताएको छ । इरानका अर्थ तथा आर्थिक मामिलामन्त्री अली मदानिजादेहले अमेरिकी प्रतिबन्ध असफल हुने दाबी गरेका छन् ।

      यसैबीच इरान र अमेरिकाबीच सैन्य तनावसमेत पुनः चर्किएको छ । आइतबार अमेरिकाले दक्षिणी इरानको लारक द्वीपमा आक्रमण गरेपछि इरानले जोर्डनमा रहेका दुई अमेरिकी सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । जुलाईको अन्त्ययता दुई पक्षबीच भएको यो पहिलो ठूलो सैन्य झडप हो । अमेरिकाले भने लारक द्वीपमा गरिएको कारबाहीलाई आक्रामक हमला नभई होर्मुज जलडमरूमध्यमा इरानी सेनाले बारुदी सुरुङ बिछ्याउन नदिन गरिएको सीमित र लक्षित कारबाही भएको दाबी गरेको छ ।

        कमेन्टहरु