सामाजिक सञ्जालमा हृदयविदारक तस्बीर, भिडियो पोस्ट नगर्न सञ्चार मन्त्रालयको अनुरोध


काठमाडौँ । बुधबार आएको बाढी पहिरो र त्यसले सिर्जना गरेको विपद्का सन्दर्भमा मानीवय संवेदनालाई ध्यानमा राखेर मात्रै विपद्सँग सम्बन्धि समाचार, सूचना तथा विवरण सम्प्रेषण गर्न सरकारले अनुरोध गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको विज्ञप्तीमा यस्तो समयमा प्रवाह हुने सूचनाले उद्दार, राहत तथा जनमानसमा पार्ने प्रभाव अति नै महत्वपूर्ण हुने उल्लेख छ । मन्त्रालयले सामाजिक सञ्जालमा हृदयविदारक घटनाका तस्बीर, भिडियो वा विवरण पोस्ट तथा रिपोस्ट नगर्न अनुरोध गरेको छ ।
पिडित र उनीहरूका परिवारप्रति पूर्ण मानवीय संवेदनशीलता दर्शाउन भनिएको छ । भयावह र समाजलाई विचलित बनाउने सामग्री सेयर नगर्न मन्त्रालयले स्पष्ट पारेको हो । यस्तै, मन्त्रालयले विपद्बाट प्रभावित र पिडितको उद्धार तथा राहत वितरणको प्रयास भइरहेको जनाएको छ ।
विपद्का समाचार सम्प्रेषण गर्दा अनिवार्य रूपमा आधिकारिक निकायको सूचनालाई मात्र आधार बनाउन भनिएको छ । गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय विपद् व्यवस्थापन समितिबाट प्राप्त सूचना मात्रै पत्याउन आग्रह गरिएको छ । मन्त्रालयले भ्रामक सूचना प्रवाहमा नियन्त्रण गर्न आग्रह गरेको छ। ‘अपुष्ट, कपोलकल्पित, कृत्रिम बुद्धिमताको प्रयोगबाट सिर्जित भ्रामक र सर्वसाधारणमा त्रास फैलाउने खालका समाचार तथा अफवाहहरू सम्प्रेषण नगर्न/नगराउनुहुन अपिल गर्छौँ,’ विज्ञप्तीमा भनिएको छ ।
कतिपय सञ्चार माध्यम र सामाजिक सञ्जालमा विचलित पार्ने खालका सामग्री आएकोप्रति मन्त्रालयले ध्यानाकर्षण गराएको छ । यस्ता सामग्रीले ज्यान गुमाएका व्यक्तिका आफन्तलाई थप विक्षिप्त पार्ने विज्ञप्तिमा उल्लेख छ। ‘सही तथ्यपरक र जिम्मेवार सूचना सम्प्रेषण गरी उद्धार तथा राहत कार्यमा सहयोग पुऱ्याउनका लागि सम्पूर्ण राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा मन्त्रालय विशेष अपिल गर्दछौँ,’ मन्त्रालयले भनेको छ ।





