समाज

    त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

    रासस
    २०८३ भदौ १४ | मध्यान्ह ०४:०५ बजे

      गोरखा । त्रिशूली नदीमा आइतबार (भदौ १४) आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८, घ्याल्चोक र पृथ्वी राजमार्गको चरौँदी जोड्ने झोलुंगे पुल बगाएको छ । बाढीले बिहान ११ः३० बजेतिर पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिए ।

      पुल बगाएपछि गण्डकी गाउँपालिका–७ र ८ का बासिन्दालाई त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । “घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो,” उनले भने, “अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए ।”

      यही भदौ १० गते आएको बाढीले यसभन्दा केही तल रहेको धवादीघाटको पुल बगाएको थियो । त्यो बगाएपछि स्थानीयवासीले घ्याल्चोकको पुल भएर वारपार गर्ने गरेका थिए । यो पुल पनि बगाएपछि स्थानीयवासीलाई समस्या भएको अर्का स्थानीय विजय रूपखेतीले बताए ।

      घ्याल्चोक–चरौँदी जोड्ने पुल १३० मिटर लामो थियो । त्यो ६ वर्षअघि मात्र निर्माण गरिएको थियो ।

      योसँगै त्रिशूलीको बाढीले गोरखामा तीन झोलुंगे पुल बगाएको छ । एउटा पुलमा पूर्ण रूपमा क्षति भएको छ ।

        कमेन्टहरु