भोटेकोसी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती


काठमाडौं । भोटेकोसी नदीको बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज (भदौ १४) दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने अनुमान छ ।
बाढी प्रभावित क्षेत्रमा हाल बादल लागेको छ । दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका मौसमविद् डेविड ढकालले भने, “बाढी प्रभावित क्षेत्रमा अहिले बादल देखिएको छ । दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ । अपराह्न ४ बजेपछि भने खोज तथा उद्धारका लागि मौसम केही अनुकूल हुने सम्भावना रहेको छ ।”
यस दिन कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ । कर्णालीको पहाडी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यसबाहेक देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
यसैबीच, विज्ञले भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको जनाएका छन् । माथिल्लो क्षेत्रमा बनेको हिमताल फुट्ने सम्भावना समेत रहेकाले थप वर्षाका कारण राहत, उद्धारमा समस्या आउने भनेर विज्ञले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।
यस किसिमको विषम परिस्थितिमा नदीतटीय क्षेत्रका प्रभावित बासिन्दा र खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलगायत जनशक्तिलाई विशेष सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् ।





