सूचना / प्रबिधि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिन स्टारलिङ्क तयार

    नवलपुर टुडे
    २०८३ भदौ १४ | बिहान ०७:०५ बजे

      काठमाडौँ । विश्वप्रसिद्ध स्याटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले नेपाल तथा तिब्बत सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

      सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक सन्देश जारी गर्दै स्टारलिङ्कले नेपाल सरकारको अनुमति प्राप्त हुनासाथ प्रभावित क्षेत्रहरूमा आफ्ना उपकरण (किट्स) जडान गरी निःशुल्क सेवा सञ्चालन गर्न तयार रहेको जनाएको छ।

      कम्पनीले बाढीपहिरोका कारण सडक, पुल तथा स्थानीय मोबाइल नेटवर्कहरू पूर्ण रूपमा अवरुद्ध भएको विपद्को घडीमा स्टारलिङ्कको सञ्चार प्रणाली निकै प्रभावकारी साबित हुने उल्लेख गरेको छ।

      यस सेवाले उद्धार कार्यमा खटिएका टोली, घाइतेहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा बेपत्ता आफन्तको खोजीमा जुटेका परिवारहरूलाई तत्काल सम्पर्क स्थापित गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

      स्टारलिङ्कका अनुसार यस प्रविधिका लागि केवल पावर स्रोत र खुला आकाशको पहुँच आवश्यक पर्छ, जसको माध्यमबाट उपकरण जडान गरेको केही मिनेटभित्रै उच्च गतिको र कम विलम्बता भएको इन्टरनेट सञ्चालन गर्न सकिन्छ।

      विपद् प्रभावित जनताप्रति सहानुभूति प्रकट गर्दै स्टारलिङ्कले नेपाल सरकार तथा मानवीय सहायता साझेदारहरूसँग सहकार्य गर्न आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ।

        कमेन्टहरु