दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास, विश्व
NRNA NCC यूएईको तीज विशेष कार्यक्रम स्थगित

प्रवास दुबई, यूएई |
नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले आगामी १३ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने भनिएको तीज विशेष कार्यक्रम स्थगित गरेको छ।
नेपालमा पछिल्लो समय आएको बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नेपाली प्रभावित बनेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको एनआरएनए एनसीसी यूएईका महासचिव कमल जङ्ग कार्की ले नवलपुर टुडेलाई जानकारी दिनुभयो।
दुवईको ब्लु प्लेसमा आयोजना गर्ने तय भएको कार्यक्रममा नेपालकी चर्चित कलाकार भूमिका गिरीलाई विशेष अतिथि कलाकारका रूपमा आमन्त्रण गरी सांगीतिक प्रस्तुति राख्ने तयारी गरिएको थियो। कार्यक्रमका लागि आवश्यक तयारीसमेत भइरहेको अवस्थामा प्राकृतिक विपत्तिका कारण हाल उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षसहित स्थगित गर्ने निर्णय गरी सर्व साधारणलाई जनकारिको लागि बिज्ञाप्ति समेत जारी गरेको छ।

एनआरएनए एनसीसी यूएईले बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विज्ञप्तिमा प्रभावितहरूको शीघ्र उद्धार, उपचार तथा सुरक्षित पुनर्स्थापनाका लागि शुभकामना व्यक्त गरिएको छ।
विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विपत्तिको यस घडीमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न तथा पीडित परिवारको दुःखमा साथ दिन एनआरएनए एनसीसी यूएईले अपिल गरेको छ।
कार्यक्रमको नयाँ मिति तथा अन्य आवश्यक जानकारी परिस्थितिको मूल्याङ्कनपछि सार्वजनिक गरिने एनआरएनए एनसीसी यूएईका महासचिव कमल जङ्ग कार्कीले जानकारी दिनुभएको छ।






