बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    बाजुराका १४ जना अझै रसुवाको बाढीमा सम्पर्क बिहिन

    उमेश रोकाया
    २०८३ भदौ १३ | मध्यान्ह ०६:०५ बजे

      बाजुरा, भदौ १० । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्क विहिन भएका बाजुराका १४ जना चार दिन वितिसक्दा पनि अझै सम्पर्कमा आउन सकेका छैनन् ।हिमालीका गाउँपालिकाका ८ जना, स्वामीकार्तिक खापर गाउँपालिकाका ५ र जगन्नाथ गाउँपालिकाका १ जना बाढीपछि सम्पर्कविहीन भएका छन् ।

      यसअघि १३ जना सम्पर्क विहीनको थप एक जना गरी हालसम्म भोटेकोशी बाढीपछि जिल्लाका १४ जना नागरिक अझै सम्पर्कमा नआएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् ।उनका अनुसार रसुवामा आएको बाढीपछि १४ जनाका आफन्तले सम्पर्कमा नआएको प्रहरी र प्रशासनमा जानकारी गराएको र यी बाहेक अरु कसैको विवरण नआएको बताए ।

      भोटेकोशी नदीमा आएको बाढीपछि हिमाली गाउँपालिकाका १९ वर्षीय दीपक रोकाया, ५० वर्षीय विष्णुमती रोकाया, ३५ वर्षीय आराम नेपाली, ३२ वर्षका मोहनलाल रोकाया, विक्रम भण्डारी, ५५ वर्षीय बिसी पाण्डे, नेपाली सेनामा कार्यरत ४५ वर्षका दिपेश सार्की र चन्द्र साकी सम्पर्कविहीन छन् ।यस्तै, स्वामीकार्तिक खापर गाउँपालिकाका ४० वर्षका मनऋषि सञ्ज्याल, ३८ वर्षीय मनकला सञ्ज्याल, १८ वर्षीय सुस्मिता जोशी, ४६ वर्षीय विरेन्द्र जैशी, ४४ वर्षीय सत्यादेवी जैशी र जगन्नाथ गाउँपालिकाका २९ वर्षीय मुकेश दमाई हालसम्म पनि सम्पर्कमा नआएको विवरण प्राप्त भएको प्रशासनले जनाएको छ ।

      उनीहरुको खोजी कार्यका लागि प्रहरी र प्रशासनलाई आग्रह गरेका छन् । सम्पर्क विहिन भएका आफन्तहरुले तत्काल खोजी कार्यका लागि समन्व्य सहकार्य गरी दिन जिल्ला प्रशासन कार्यालय बाजुरलाई आग्रह गरेका छन् ।
      सहयोगका लागि प्रशासनको अपिल जिल्ला प्रशासन कार्यालय बाजुराले रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।प्रशासनले शनिबार सार्वजनिक सूचना जारी गर्दै भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित क्षेत्रमा रहेका बाजुरेलीको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको हो ।

      बाजुराबाट रसुवा, नुवाकोटलगायत बाढी प्रभावित जिल्लाका विभिन्न स्थानमा व्यापार, रोजगारी तथा पर्यटनका लागि गएका व्यक्तिहरू बाढीपछि आफन्तको सम्पर्कमा आए नआएको यकिन गर्न प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाद्धारा हस्ताक्षरित सार्वजनिक सुचना मार्फत आग्रह गरिएको छ ।

      सम्पर्कमा नआएका व्यक्ति भए परिवार, आफन्त तथा आपत्कालीन अवस्थाका व्यक्तिका बारेमा नजिकको प्रहरी इकाइ, जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन भनिएको छ ।यस्तै, जिल्ला प्रशासनले विपद्को समयमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई समेत सहयोगका लागि आह्वान गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरी सक्दो सहयोग गर्न अपिल गरिएको छ ।

        कमेन्टहरु