बिश्व

    अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घको आह्वान

    एजेन्सी
    २०८३ भदौ १३ | मध्यान्ह ०५:०५ बजे

      काठमाडाैँ । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन् ।

      युद्धको ६ महिनापछि अमेरिका र इरानबिच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले भने, “लामो समय द्वन्द्व चलिरहनु दुःखद हो, यसको एक मात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौँ ।”

      संयुक्त राष्ट्रसङ्घले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सँधै सम्पर्कमा रहेको डुजारिकले बताएका छन् ।

      महासचिवका लागि चिन्ताका विषयहरुमा द्वन्द्वको विनाशकारी मानवीय र आर्थिक परिणामहरू भएको उल्लेख गर्दै यसमा खाद्य आपूर्ति, विश्वव्यापी आर्थिक प्रभाव, मानवीय आवाश्यकताका सामानहरू तथा ऊर्जाको मूल्यमा उच्च वृद्धिलगायतका पक्षहरु समावेश रहेको उनले बताएका छन् ।

      महासचिवका व्यक्तिगत दूत, जीन अर्नाल्ट, द्वन्द्वको स्थायी समाधानमा पुग्न सम्बन्धित पक्ष र मध्यस्थकर्ताहरूलाई सहयोग गर्न सँधै उपलब्ध भएको र सम्पर्कमा रहीरहेको प्रवक्ता डुजारिकले बताएका छन् ।

      गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए । यसको बदलामा, इरानले इजरायल र खाडीमा रहेका अमेरिकी सैन्य आधारहरूमा प्रति आक्रमण गर्यो ।

      जसको परिणामस्वरुप विश्वव्यापी ऊर्जा व्यापारका लागि प्रमुख समुद्री मार्गको रुपमा सञ्चालित होर्मुजको जलमार्ग अवरुद्ध भएको थियो, जसले तेल र वस्तुहरूको प्रवाहलाई गम्भीर रूपमा प्रभावित बनाइएको थियो ।

      गत जुन १८ मा, संयुक्त राज्य अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । जसअन्तर्गत दुई देशहरूले अन्तिम सम्झौतामा पुग्न ६० दिनभित्र वार्ता गनुपर्र्नेे तय गरिएको थियो । तर, दुई देशबिच नयाँ तनाव बढेपछि वार्ताको प्रक्रिया पूर्वयोजनाअनुसार अघि बढ्न नसकेकाले नतिजा स्पष्ट हुन सकेको छैन ।

        कमेन्टहरु