समाज

    छोराहरू विद्यालयमै पुरिएको आशङ्कामा रोइरहेकी आमाको मुहारमा यसरी फर्कियो खुसी

    एजेन्सी
    २०८३ भदौ १३ | मध्यान्ह १२:०५ बजे

      नुवाकोट । बाढीबाट बच्न जङ्गल पसेर रूख चढेका ८ वर्षीय जोयल घलेको शुक्रबार आफ्नी आमासँग भेट भएको छ। बाढीपछि विद्यालयमै रहेका आफ्ना दुवै छोराको ज्यान गएको आशङ्का उनकी आमाले गरेकी थिइन्।

      एक दिनअघि मात्रै जोयललाई खुट्टा भाँचिएको र अनुहारमा चोट लागेको अवस्थामा विपद्ग्रस्त उत्तरी जिल्ला रसुवाबाट एक्लै हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। यसैबीच उनकी २८ वर्षीया आमा मट्टी माया तामाङ आफ्ना दुई बेपत्ता छोराको खोजीमा एउटा आश्रयस्थलबाट अर्कोमा भौँतारिइरहेकी थिइन्।

      ‘चौथो ठाउँमा पुग्दा पनि मेरो छोराहरूको नाम सूचीमा थिएन,’ तामाङले रोयटर्सलाई भनिन्। उनीहरू त्यहाँ नभेटिएपछि आफूले दुवै छोरा गुमाएको स्वीकार गरिसकेको उनले सुनाइन्। ‘म रुनेबाहेक अरू केही गर्न सक्दिनथेँ, मैले आफूलाई सम्हाल्नै सकिनँ,’ उनले थपिन्।

      काठमाडौँको उत्तरमा पर्ने रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट कम्तीमा १७ हजार बालबालिका प्रभावित भएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको पहिचान, दर्ता र पुनर्मिलन गराउन नेपाल सरकारसँग मिलेर काम गरिरहेको पनि जानकारी दिएको छ।

      तामाङ र उनको परिवार भाग्यमानीमध्ये परेका छन्। नेपाल र चीनको तिब्बतमा गरी कम्तीमा ६ सय २६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब २५ सय जना बेपत्ता छन्।

      धेरै ठाउँको असफल खोजीपछि तामाङले बिहीबार रोयटर्सकी पत्रकार साहना बज्राचार्यको टेलिफोन नम्बर पाइन्। पत्रकार बज्राचार्यले केही घण्टाअघि मात्रै छिमेकी जिल्ला नुवाकोटको एउटा सानो अस्पतालमा जोयललाई भेटेकी थिइन्।

      अस्पतालमा ल्याइएका एक बालकको परिवारबारे अधिकारीहरू बेखबर रहेको सुनेपछि बज्राचार्य र रोयटर्सको टोली त्यहाँ पुगेको थियो।

      थप उपचारका लागि हेलिकप्टरबाट अन्यत्र लैजानुअघि जोयलसँग कुरा गर्दा उनले आफ्नो परिवार फेला पर्ने आसमा भिडियो खिच्न सहमति जनाएको बज्राचार्यले बताइन्।

      बज्राचार्यले अस्पतालमा आफ्नो नम्बर छाडेकी थिइन्। त्यसको केही घण्टापछि तामाङले उनलाई फोन गरिन्।

      जोयल जीवितै रहेको र उनलाई काठमाडौँ लगिएको खबर सुन्दा आफूलाई विश्वासै नलागेको तामाङले सुनाइन्।

      ‘तपाईंले जोयल कहाँ छ भनेर थाहा छ भन्दा मलाई पत्यार नै लागेन,’ उनले भनिन्। आफूले छोराहरू भेटिने आस मारिसकेको उनले बताइन्।

      तामाङले यसअघि नै आफ्नो कान्छो छोरालाई पनि जीवितै फेला पारिसकेकी थिइन्। ‘जेठो छोरालाई पनि भेटेपछि मेरो ज्यान फर्किएजस्तो लाग्यो,’ उनले भनिन्।

      • चिन्नै नसकिने बन्यो गाउँ

      बुधबार बिहान दुवै छोरा स्कुल बस चढेर विद्यालय गएका थिए। उनी भने घरमै तान बुन्न थालेकी थिइन्। एक्कासि भूकम्प आएजस्तो आवाज सुनियो।

      सामाजिक सञ्जालमा साझा गरिएका र रोयटर्सले पुष्टि गरेका भिडियोहरूअनुसार बुधबार लाङटाङ लिरुङ हिमाल नजिकैको हिमनदीको तल्लो भाग भत्किएर तल उपत्यकामा खस्दा बाढी आएको थियो। हिउँ र चट्टानको हिमपहिरोका कारण त्यहाँ विशाल पहिरो खसेको थियो।

      ‘मैले सबैथोक बगाइरहेको देखिरहेको थिएँ,’ तामाङले भनिन्। त्यो दृश्य देख्दा आफ्ना छोराहरूलाई पनि बाढीले बगाएको उनलाई लागेको थियो।

      गाडीमा सामान्यतया १५ देखि २० मिनेट लाग्ने विद्यालयतर्फ उनी जान खोजिन्। तर, बाटोको अवस्था चिन्नै नसकिने भइसकेको उनले बताइन्। विद्यालयको भवन पनि ध्वस्त भइसकेको थियो।

      ‘विद्यालय कहाँ थियो, बजार कहाँ थियो भनेर खुट्याउनै सकिँदैनथ्यो,’ उनले थपिन्, ‘जताततै पानी, ढुङ्गा र हिलो मात्र थियो।’

      पहिरोले उत्तरी नेपाल हुँदै तिब्बतसम्म पानी र गेग्रान बगाएको थियो। केही मिनेटभित्रै सिङ्गो बस्ती खण्डहरमा परिणत भयो।

      • २० रुपैयाँ बोकेका बालक

      बिहीबार बिहान ११ बजेतिर रोयटर्सको टोलीले नुवाकोटको १५ शय्याको चक्रदेव अस्पतालमा जोयललाई भेट्दा त्यहाँ कसैलाई पनि उनको परिवार कहाँ छ भन्ने पत्तो थिएन।

      उनको दाहिने खुट्टा भाँचिएको थियो भने अनुहारमा कोरिएको र नीलडाम थियो। तर, उनले आफ्नो देब्रे हातमा १० रुपैयाँका दुईवटा नोट कसिलो गरी मुठ्ठीमा च्यापेका थिए।

      उद्धार गर्ने प्रहरी अधिकारीहरूले उनलाई फकाएर आफूसँगै अस्पताल लैजान उक्त पैसा दिएको अधिकारीहरूले बताएका छन्।

      बाढी आउँदा आफू विद्यालयमा पढिरहेको जोयलले बताए। एक्कासि ‘धेरै नै अँध्यारो’ भएको क्षण उनले सम्झिए।

      ज्यान जोगाउन साथीसँगै विद्यालयबाट जङ्गलतिर भागेर रूख चढेको उनले बताए। डर लागेको थियो भनी सोधिएको प्रश्नमा उनले टाउको हल्लाउँदै ‘थिएन’ भन्ने जवाफ दिए।

      • आमाछोराको पुनर्मिलन

      अन्ततः शुक्रबार तामाङ काठमाडौँको त्यो अस्पताल पुगिन्, जहाँ जोयललाई लगिएको थियो। उक्त अस्पताल उनीहरूको घरबाट करिब दुई घण्टाको गाडीको दूरीमा पर्छ। बस सेवा पूर्ण रूपमा बन्द भएका कारण बज्राचार्यले नै तामाङका लागि गाडीको व्यवस्था गरिदिएकी थिइन्।

      कैयौँ दिनको आत्तिलाग्दो खोजीपछि तामाङ चुपचाप छोराको ओछ्यान छेउमा उभिइन्। जापानमा निर्माण मजदुरका रूपमा कार्यरत जोयलका बुबा पनि नेपाल फर्किंदै गरेको तामाङले बताइन्।

      बुधबारको बाढीले रसुवाको जनजीवन अस्तव्यस्त बनाएको छ। तर, तामाङको जीवनमा भने धेरै हदसम्म सामान्य अवस्था फर्किसकेको छ।

      ‘ऊ सधैँ चकचके छ,’ तामाङले भनिन्। खुट्टा भाँचिएको यो पहिलो पटक नभएको पनि उनले सुनाइन्।

        कमेन्टहरु