वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल


बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा चारलेनको पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा हुँदै आएको डुबान र यातायात अवरोधको समस्या हटेको छ ।
चारलेनको सडक भए पनि पेडारी नालामा रहेको पुरानो साँघुरो र जीर्ण पुलका कारण सामान्य वर्षामै नालाको पानी सडकमा बग्ने गरेको थियो । बाढी र डुबानका कारण नेपालगञ्ज–गुलरिया सडकमा आवतजावत प्रभावित हुँदै आएकोमा नयाँ पुल सञ्चालनमा आएपछि यातायात सहज भएको स्थानीय अगुवा सतीश निरौलाले बताए ।
पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै पुल निर्माण सम्पन्न गरेको हो ।
नवनिर्मित पुल २२ मिटर चौडा र ३४ दशमलव ४ मिटर लामो छ । पुल निर्माणका लागि नारायणम निर्माण सेवासँग २०८३ वैशाख १८ गतेभित्र काम सम्पन्न गर्नेगरी भ्याटसहित रु आठ करोड ९६ लाखमा ठेक्का सम्झौता भएको थियो । पुलको दुवैतर्फ दुई सय मिटर एप्रोच सडकसमेत निर्माण गरिनेछ ।
नेपालगञ्ज–गुलरिया सडकखण्डको महत्वपूर्ण पुलका रूपमा रहेको पेडारी पुलले बाँके र बर्दियाबीचको आवागमनलाई थप सहज र सुरक्षित बनाउने योजना प्रमुख भण्डारीले बताए।
यसै सडकखण्डका अन्य साँघुरा पुललाई पनि चारलेनमा विस्तार गर्ने काम अघि बढाइएको छ । बाँकेको खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नाला तथा बर्दियाको बढैयाताल गाउँपालिकास्थित चपला नालामा पनि चारलेनको पुल निर्माण भइरहेको छ ।
किरण नालामा करिब रु चार करोड ५० लाखको लागतमा नयाँ दुईलेनको पुल निर्माण भइरहेको छ । पुरानो दुईलेनको पुल यथावत् राखेर थप दुईलेनको पुल निर्माण गर्न लागिएको हो । चपला नालामा रहेको पुललाई पनि चारलेनमा विस्तार गरिने योजना प्रमुख भण्डारीले जानकारी दिए ।





