बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
श्रीमानको खोजी गर्दै उनकी पत्नी विमला


विमला रोकाया भन्छन् मेरो श्रीमान रसुवामा बसेको ८/९ वर्ष भइसक्यो। उहाँ टिमुरेमा गाडीको लोड/अनलोड गर्ने काम गर्नुहुन्थ्यो, पार्किङमा। म चाहिँ काठमाडौं, बुढानीलकण्ठमा बाबुसँग बस्छु।
यो घटना हुनुभन्दा अघिल्लो दिन राति ९ बज्न १० मिनेटअघि हाम्रो फोनमा कुरा भएको थियो। म टिचिङ अस्पतालमा क्लिनरको काम गर्छु। राति ढिलो भयो भने जहिले पनि उहाँलाई फोन गर्दै जान्थेँ।
त्यो दिन उहाँले ‘आज कति धेरै काम गरेँ, थाकेको छु’ भन्नुभएको थियो। म रूम पुगेपछि उहाँ थाक्नुभएको होला भनेर हामी आमाछोरा सुत्यौं। त्यो रात बाबुलाई १२ बजेदेखि ३ बजेसम्म अलि छटपटी भयो। ‘ला, केही भयो कि’ भनेर सोचेँ, तर उहाँलाई फोन गरिनँ। जहिले पनि मलाई निद्रा नलाग्दा वा बाबु बिरामी हुँदा फोन गर्थेँ। त्यो दिनचाहिँ गरिनँ।
राति बाबु ३ बजेसम्म छटपटिएपछि सुत्यो। बिहान ५, सवा ५ बजे उठेर खाना पकायौं। बाबु स्कुल जान रेडी भयो। त्यस दिन मेरो ड्युटी साँझ मात्र थियो।
बाबु स्कुल जाँदा जहिले पनि उहाँले फोन गर्नुहुन्थ्यो। म पनि बाबुसँग कुरा गराउँथेँ। उहाँले बाबुलाई ‘राम्रोसँग स्कुल जाऊ, राम्रोसँग पढ’ भन्नुहुन्थ्यो। त्यो दिन बाबुलाई रेडी गरिसकेपछि मैले उहाँलाई फोन गर्ने प्रयास गरेँ, तर फोन लागेन। मैले समाचार पनि हेरिनँ। मोबाइल स्विच अफ भयो होला भन्ने सोचेँ। बेला बेला टावर जाने, बत्ती जाने पनि भइरहन्छ भन्नुहुन्थ्यो। त्यही भएर फोन नलागेको होला भन्ने लाग्यो।
त्यसपछि ड्युटीमा आउँदा साथीहरूले हल्लाखल्ला गरेको सुनेँ। अनि ‘ए, मेरो बुढा पनि त्यतै हुनुहुन्छ त’ भनेर फोन गर्न खोजेँ। तर फोन लागेन। त्यसपछि उहाँसँग सम्पर्क हुन सकेको छैन।
उहाँले डिजी भन्ने एक जना साथीको कुरा गर्नुहुन्थ्यो। उहाँ पनि सँगै कम्पनीमा काम गर्ने साथी हो। उहाँको पूरा नाम त मलाई पनि थाहा छैन। कोरोना महामारी बेला पनि उहाँहरू सँगै खाने, सँगै बस्ने गर्नुहुन्थ्यो।
हिजो उहाँचाहिँ उद्धार भएर आउनुभएको रहेछ। राति ९–१० बजेतिर फोन गर्दा म थानकोट नजिकै आइसकेँ भन्नुभयो। मैले आफ्नो श्रीमानको बारेमा सोधेँ। उहाँले भन्नुभयो, ‘डाँडामा पनि हुन सक्छ, जंगल वरपर त छैन, मैले कति खोजेँ!’
मैले अहिलेसम्म प्रहरीलाई केही भनेको छैन। बाजुराको हिमाली गाउँपालिकामा चाहिँ नाम टिपाएकी छु।





