समाचार

    विद्यालयको चिसो भुइँमा बितेको सुस्ताबासीको त्यो रात

    नवलपुर टुडे
    २०८३ भदौ ११ | मध्यान्ह ०७:०५ बजे

      नवलपरासीभदौ ११  नारायणी नदीमा पानीको बहाव  बस्तीतिर सोझिएपछि पश्चिम नवलपरासीको  सुस्ताका बासिन्दाका लागि बुधवारको रात सम्झिन पनि मन नलाग्ने गरी भारी बनेर आयो ।  तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण नारायणी नदीमा पानीको बहाव  बढेपछि  सुस्ता पारिका हरेक घरमा त्रासको छाया पारेको थियो । ज्यान जोगाउनु नै पहिलो प्राथमिकता बनेपछि सुस्तावासी आफ्ना  घर, खेतबारी र पशुचौपाया त्यहीँ छाडेर सुस्तावारी सुरक्षित आश्रयको खोजीमा निस्किए ।

       सुस्तावारी आइपुगेका विस्थापितहरूका लागि बी.पी. माध्यमिक विद्यालय र छरछिमेक तथा आफन्तका घरहरू ओत लाग्ने थलो बने । तर, टाउको लुकाउने ठाउँ पाए पनि सुस्तावासीका आँखामा रातभर निद्रा परेन । विद्यालयका चिसो भुइँमा बिछ्याइएका त्रिपाल र म्याटमा पल्टिएका उनीहरूका मन भने नारायणीको बाढी र  छाडेर आएको बस्तीमै घुमिरहे ।

      “रातभरि कसैको आँखा जुधेनन्, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्हाल्दै जागारामै रात बित्यो,” सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले भन्नुभयो, “ज्यान त जोगियो, तर पिरेले र  चिन्ताले कसैलाई सुत्न दिएन।”

      बाढीको विपत्तिमा परेका नागरिकका लागि स्थानीय तहले पनि अभिभावकीय भूमिका निर्वाह गर्ने प्रयास गर्‍यो। रातभर विस्थापित नागरिकको खानपिन र बसाइको व्यवस्थापनमा सुस्ता गाउँपालिका खटिएको        थियो ।

      सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार विपत्तिको खबर पाउनासाथ पालिकाले तुरुन्तै उद्धार र राहत सामग्रीको बन्दोबस्त गरेको थियो। “गाउँपालिकाको तर्फबाट विद्यालयमा आश्रय लिएर बसेका सम्पूर्ण बाढीपीडित नागरिकहरूलाई  खाना, स्वच्छ खानेपानी र बसाइको व्यवस्थापन गरिएको थियो,” अध्यक्ष उपाध्यायले भन्नुभयो,, “अप्ठ्यारो परिस्थितिमा कुनै पनि नागरिकले भोकै र असुरक्षित बस्न नपरोस् भनेर पालिकाको टोली रातभर खटिएको थियो।”

      आफन्तको घरमा शरण लिन पुगेकाहरूका लागि पनि त्यो रात सहज थिएन । आफ्नै घर छाडेर अरूको ओत लाग्नुको पीडा र अनिश्चित भविष्यको चिन्ताले हरेक विस्थापितलाई सताइरह्यो।

      वर्षेनि दोहोरिने नारायणीको कटान र डुबान सुस्तावासीका लागि नयाँ भने होइन। तर, हरेक वर्षात्‌मा आउने बाढीले उनीहरूको जीवनमा छाड्ने त्रासको छाप भने उस्तै गहिरो हुन्छ। बिहीबार नारायणीमा पानीको सतह घट्दै गएपछि सुस्तावासी राहतको सास फेर्दै पुनः झोलुङ्गे पुल हुँदै आफ्ना आधाछुटेका सपना र घर-आँगन सम्हाल्न सुस्ता पारितर्फ फर्कन थालेका छन्।

      तस्बिर : बी.पी. माध्यमिक विद्यालयमा सुस्ताका बासिन्दाहरू

      787406197 10246316662035576 3948729298668810468 n

        कमेन्टहरु