विपद् उद्धारका लागि बेलायतद्वारा ५० लाख पाउन्ड सहयोगको प्रतिबद्धता


काठमाडौँ । नेपालमा पछिल्लो समय देखिएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन र उद्धार कार्यका लागि बेलायतले प्रारम्भिक रूपमा ५० लाख पाउन्ड ( १ अर्ब ३ करोड ७४ लाख ५९ हजार ५०० रुपैयाँ ) सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले नेपालमा देखिएको विनाशप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक परे आपत्कालीन उद्धार तथा विपद् प्रतिक्रिया टोली नेपाल पठाउनसमेत तयार रहेको बताएका छन्।
उनका अनुसार बेलायतले तत्काल कदम चाल्दै प्रभावित क्षेत्रमा कन्सुलर सहयोगी कर्मचारी परिचालन गरिरहेको छ। यसबाट नेपालमा रहेका बेलायती नागरिकले चौबीसै घण्टा आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन्।
नेपालमा केही बेलायती नागरिक अझै सम्पर्कविहीन रहेको आशंका गरिएको भन्दै उनले उनीहरूका परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
‘हाल केही बेलायती नागरिक हराइरहेको ठानिएको छ। यस्तो अत्यन्तै पीडादायी र विनाशकारी अवस्थामा हामी उनीहरूका परिवारलाई सक्दो सबै सहयोग उपलब्ध गराउनेछौँ,’ उनले भने।
बेलायतको प्रारम्भिक आर्थिक सहयोग र आपत्कालीन प्रतिक्रिया टोली पठाउने प्रस्तावले नेपालमा जारी खोज, उद्धार तथा राहत प्रयासमा अन्तर्राष्ट्रिय सहयोग थपिने अपेक्षा गरिएको छ।





