प्यान्क्रियाटिक क्यान्सरको औषधिलाई एफडीएले दियो अनुमति


वासिङ्टन डीसी । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले रिभोल्युसन मेडिसिन्सले प्यान्क्रियाजको क्यान्सरको उपचारमा बनाएको नयाँ औषधिलाई स्वीकृति दिएको छ । बृहत ठूलो क्लिनिकल परीक्षणमा यस औषधिले उन्नत अवस्थामा पुगेका बिरामीको बाँच्ने अवधि दोब्बर बनाएको देखाएको थियो ।
‘रेसनक्यु’ नाममा उपलब्ध हुने यो दिनमा एकपटक सेवन गर्ने चक्की औषधि हो । यसलाई पहिले उपचार गराइसकेका वा संयोजन किमोथेरापी लिन नसक्ने मेटास्टेटिक प्यान्क्रियाटिक क्यान्सरका बिरामीका लागि स्वीकृति दिइएको हो । औषधिले प्यान्क्रियाजका धेरै प्रकारका क्यान्सरमा ट्युमर बढाउन भूमिका खेल्ने आरएएस प्रोटिनका विभिन्न रूपलाई रोक्ने गरी काम गर्छ ।
रेसनक्यु एफडीएको शीघ्र स्वीकृति दिने नयाँ प्रक्रियाअन्तर्गत समीक्षा गरिएको थियो । यो प्रक्रियाले सामान्यतया १० देखि १२ महिना लाग्ने औषधि स्वीकृति प्रक्रियालाई एकदेखि दुई महिनासम्ममा सीमित गर्ने लक्ष्य राखेको छ । ‘यो स्वीकृतिले मुख्यतः आरएएसबाट सञ्चालित अग्न्याशय क्यान्सरमा केन्द्रित भएर एक दशकभन्दा बढी समयदेखि गरिएको हाम्रो कामलाई मान्यता दिएको छ । यो चिकित्सा, क्यान्सर जीवविज्ञान र औषधि विकासका सबैभन्दा कठिन चुनौतीमध्ये एक हो,’ रिभोल्युसनका प्रमुख कार्यकारी अधिकृत मार्क गोल्डस्मिथले भने ।





