चमत्कारको आशा : बाढीपछि हराइरहेका प्रियजनको पर्खाइमा परिवार


काठमाडौँ । नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका आफ्ना प्रियजनको खबरको पर्खाइमा परिवारहरू व्यग्र रूपमा बसिरहेका छ न्।
न्युजिल्यान्डका राजीव रेड्डीले मंगलबारदेखि आफ्नी दिदी सुहासिनी रेड्डी कण्डिमल्लाको कुनै खबर पाएका छैनन्।
४४ वर्षीया सुहासिनी बुधबार बिहान अध्यागमनको काम सकेर तिब्बतको आउटर कोरा ट्रेलतर्फ जाने योजनामा थिइन्। तर, बिहीबार टुर कम्पनीले उनीहरूसहित ३१ जनाको टोली सम्पर्कविहीन भएको जानकारी गरायो।
४ र १६ वर्षका दुई सन्तानकी आमा सुहासिनीलाई पदयात्रा निकै मन पर्थ्यो। उनले अर्को वर्ष सगरमाथाको पदयात्रा गर्ने योजनासमेत बनाएकी थिइन्। ‘हाम्रो परिवारले कुनै जानकारी पाइन्छ भन्ने आशमा नेपालमा रहेका आफन्त र सम्पर्क व्यक्तिहरूसँग कुराकानी गरिरहेको छ,’ राजीवले थपे, ‘हामी उनी चाँडै सकुशल फर्किने छिन् भन्ने आशमा छौँ।’
यता, अस्मिता दाहाल आफ्नो भाइ सुमन दाहाल सकुशल घर फर्किने चमत्कारको पर्खाइमा छिन्। रसुवाको टिमुरेस्थित सोनम गेस्ट हाउसमा टुर ग्रुपसँगै काम सकेपछि २१ वर्षीय सुमनले बुधबार दिदीलाई ‘भोलि बिहान भेटौँला’ भनेका थिए।
सोही राति उक्त टोली चीनतर्फ लागेपछि सुमन काठमाडौँ फर्किने तयारीमा उतै रोकिएका थिए, तर त्यसयता उनी सम्पर्कमा छैनन्। ‘उसको नम्बरले काम गर्न छाडेको छ, फोन अफ छ र ऊ कहाँ छ भन्ने हामीलाई कुनै पत्तो छैन,’ अस्मिताले सीएनएनलाई बताइन्।
उनले भाइ चढेको बस बाढीले बगाएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिन्। ‘हामी धेरै नै चिन्तित छौँ,’ उनले थपिन्, ‘तर पनि कुनै चमत्कार हुन्छ भन्ने हाम्रो आश जीवितै छ।’
अमेरिकी नागरिक राधिका शर्माले आफ्नो जीवनकै सबैभन्दा खराब २४ घण्टा बिताइरहेको बताएकी छन्। उनी नेपालको बाढीमा हराइरहेका आफ्ना बुवा रमेश र आमा नीलम शर्माको खबर व्यग्र रूपमा पर्खिरहेकी छन्।
६५ वर्षीय रमेश र ६४ वर्षीया नीलम नेपाल ट्रेकिङ प्लानर्समार्फत तीर्थयात्राका लागि नेपाल आएका थिए। नेपाल र तिब्बतका हिमाली क्षेत्रहरूमा हिन्दू र बौद्ध धर्मका महत्त्वपूर्ण स्थलहरू रहेकाले यो क्षेत्र धार्मिक तीर्थयात्राका लागि लोकप्रिय मानिन्छ।
बुधबार बिहान विपद् आउनुअघि करिब ८ बजेतिर सात जनाको उक्त टोलीसँग टुर कम्पनीले अन्तिम पटक सम्पर्क गरेको शर्माले बताइन्। त्यसबेला उनीहरू चीनको स्वशासित क्षेत्र तिब्बतको सीमामा पुगिसकेका थिए।
त्यसयता शर्माले आफ्ना मातापिताको कुनै खबर पाएकी छैनन्। उनीहरू जहाँ भए पनि सायद डराइरहेका होलान् भन्ने आफूलाई लागेको राधिकाले सिएनएनलाई बताइन्। बुवाआमाले आफू र आफ्नो भाइको पनि चिन्ता गरिरहेको हुनुपर्ने उनको भनाइ छ।
रमेश र नीलम ३० वर्षअघि भारतबाट न्युयोर्क बसाइँ सरेका थिए। राधिका आफ्ना मातापितालाई निकै व्यावहारिक र मेहेनती मान्छिन्। सिभिल इन्जिनियर रहेका बुवा र हुलाक सेवामा काम गरेकी आमाले दुवै सन्तानलाई कलेज पढाउनुका साथै राधिकालाई मेडिकल स्कुलको अध्ययन पूरा गराएका थिए।
दुई वर्षअघि मात्रै अवकाश प्राप्त गरेर उनीहरूले भर्खरै आफ्नो लागि बाँच्न र घुम्न सुरु गरेको राधिकाले बताइन्। ‘म केही सकारात्मक खबर सुन्ने आशमा,’ उनले भनिन्, ‘केवल पर्खेर बसिरहेकी छु।’
काठमाडौंस्थित टुर कम्पनी कैलाश जर्निजका अनुसार बाढीको यस विपद्मा उनीहरूमार्फत गएका २६ विदेशी पर्यटक र ५ जना नेपाली गाइड सम्पर्कविहीन भएका छन्। कम्पनीका नेपाल अपरेसन प्रमुख सुजन वस्तीले बताएअनुसार, उक्त टोली रसुवागढी नाकातर्फ जाँदै गर्दा गाउँ र सहरहरूमा अचानक बाढी पसेको थियो।
सम्पर्कविहीन हुनेहरूमा ८ जना अमेरिकी, ७ जना बेलायती, ६ जना अस्ट्रेलियाली, २ जना क्यानडेली तथा न्युजिल्यान्ड, दक्षिण अफ्रिका र मलेसियाका एक-एक जना नागरिक रहेका छन्। टोलीमा १३ जना पुरुष र १३ जना महिला थिए, जसमा अमेरिकी समूहमा ४ महिला र ४ पुरुष थिए।
कैलाश मानसरोवरतर्फको स्थलगत पदयात्रा सुरु गर्न उक्त टोली मंगलबार बिहान ८ बजे काठमाडौँबाट प्रस्थान गरेको थियो। यात्रा सुरु गर्नुअघि उनीहरू निकै उत्साहित देखिएको र सामूहिक तस्बिर तथा सेल्फीसमेत खिचेको वस्तीले स्मरण गरे।
बुधबार बिहान ७:३० बजे रसुवाको स्याफ्रुबेसीबाट करिब १० किलोमिटर टाढा रहेको रसुवागढीतर्फ प्रस्थान गर्दा उनीहरूको अन्तिम लोकेसन ट्र्याक भएको थियो। सडकको खराब अवस्थाका कारण त्यहाँ पुग्न केही घण्टा लाग्छ।
बाढीको खबर आएपछि कम्पनीले उनीहरूसँग सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन सकेन। ‘उनीहरू जीवितै फर्किए भने म सबैभन्दा बढी खुसी हुनेछु, तर अहिलेका लागि त्यो असम्भव जस्तै देखिन्छ,’ वस्तीले भने, ‘म राम्रो खबरको लागि प्रार्थना गरिरहेको छु, यो केवल आशमाथिको आश जस्तै भएको छ।’





