आँपको रुख समातेर बाँचेका विवेकको कथा


काठमाडौँ । नेपाल-चीन सीमावर्ती क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी हालसम्म कम्तीमा १६५ जनाको मृत्यु भएको छ भने सयौँ मानिस बेपत्ता छन्।
रसुवासँग जोडिएको नुवाकोटको विदुरमा नयाँ बनेको घरबाहिर चर्पीको खाल्डो खन्दै गर्दा बाढीले बगाएका २४ वर्षीय श्रमिक विवेक कुमालको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
‘दौडँदै गर्दा बाढीले बगाए पनि अलि पर रहेको आँपको रुखमा अडिन पुगेँ’, ट्रमा सेन्टरको शय्याबाट उनले भने, ‘आँपको रुख नभएको भए मेरो ज्यानै जाने थियो।’
आँपको रुखमा समातेर बसिरहेका बेला आफूले काम गरिरहेको घर बाढीले बगाएर बेपत्ता बनाएको उनले प्रत्यक्ष देखेको बताएका छन्। पछि प्रहरीले पुगेर उनको उद्धार गरेको थियो। बाढी र ढुङ्गाले लाग्दा उनको दाहिने खुट्टामा चोट लागेको छ।
उक्त बाढीमा घाइते भएका अन्य तीन जनाको पनि कुमालसँगै ट्रमा सेन्टरमा उपचार भइरहेको छ। हालसम्म ११४ भन्दा बढी मानिसको सफल उद्धार गरी काठमाडौँ र रसुवाका विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्।
त्यसैगरी, सोही अस्पतालमा उपचाररत ११ वर्षीया रिहाना लामिछाने पनि बाढीबाट जोगिन सफल भएकी छन्। विद्यालय बन्द भएपछि घर फर्किने क्रममा खोला तर्दै गर्दा अचानक बाढी आएको उनले बताइन्।
‘म सुरक्षित रहेकामा खुसी छु, मेरा साथीहरूलाई के भयो भन्ने मलाई थाहा छैन’, छाती र खुट्टामा चोट लागेकी रिहानाले भनिन्। उनकी आमा रिता लामिछानेले साथीको फोन आएपछि हतार-हतार पुगेर छोरीलाई सुरक्षित फेला पार्दा ठुलो राहत मिलेको बताएकी छन्।
नेपाल र तिब्बत सीमाको नदीमा माटो र चट्टानको ठुलो ढिस्को खसेपछि यो विनाशकारी बाढी आएको अनुमान गरिएको छ। चिनियाँ सीमातर्फको सीसीटीभी फुटेजमा मानिसहरू ज्यान बचाउन भाग्दै गर्दा भवन र सवारी साधनहरू ध्वस्त भएको देखिएको छ।
पहिरोको यकिन कारण स्पष्ट नभए पनि जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजका अनुसार फुटेजमा देखिएको समयभन्दा करिब सात मिनेटअघि सो क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।





