मस्कोमा किन उत्रियो अमेरिकी सेनाको विमान ?


मस्को । रुस–युक्रेन युद्ध जारी रहेका बेला अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए)का निर्देशक जोन र्याटक्लिफ अचानक रुसको राजधानी मस्को पुगेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार र्याटक्लिफ मस्कोमा केही उच्चस्तरीय भेटवार्ताका लागि पुगेका हुन् । तर उनले रुसी पक्षका कुन अधिकारीसँग भेट गरे वा वार्ताको विषय के थियो भन्नेबारे अमेरिकाले औपचारिक जानकारी दिएको छैन ।
सीबीएस न्युजले घटनाबारे जानकार स्रोतलाई उद्धृत गर्दै र्याटक्लिफ मस्कोमा रहेको जनाएको थियो । एबीसी न्युजले पनि उनी रुसी राजधानीमा भेटवार्ताका लागि पुगेको रिपोर्ट गरेको थियो । सीआईए, रक्षा मन्त्रालय र वायुसेनाले भने उनको भ्रमणबारे टिप्पणी गर्न अस्वीकार गरेको समाचारमा भनिएको छ ।
र्याटक्लिफ सीआईए निर्देशक बनेपछि रुसको यो पहिलो ज्ञात भ्रमण हो । यसअघि तत्कालीन सीआईए निर्देशक विलियम बन्र्सले नोभेम्बर २०२१ मा मस्कोको भ्रमण गरेका थिए । बन्र्सले त्यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य उच्च अधिकारीसँग युक्रेनमाथि सम्भावित आक्रमणबारे छलफल गरेका थिए ।
र्याटक्लिफको भ्रमणको खबर सार्वजनिक हुनुअघि अमेरिकी वायुसेनाको बोइङ सी–१७ए ग्लोबमास्टर–३ सैन्य परिवहन विमान मस्कोको वनुकोभो विमानस्थलमा अवतरण गरेको थियो ।
उडान ट्र्याकिङ विवरणअनुसार उक्त विमान अमेरिकाको मेरील्यान्डस्थित जोइन्ट बेस एन्ड्र्युजबाट उडेको थियो । त्यसपछि दक्षिण क्यारोलिनाको चाल्र्सटन र लाटभियाको रिगामा रोकिएर विमान मस्कोतर्फ गएको थियो । रिगाबाट उडेको विमान मंगलबार बिहान मस्को पुग्यो ।
मस्को विमानस्थलमा अमेरिकी कूटनीतिक सवारीसाधनको आवतजावतसमेत देखिएपछि विमानको यात्रालाई लिएर थप चासो बढेको थियो । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले भने अमेरिकी विमानको आगमनबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए । पछि उनले र्याटक्लिफको भ्रमणलाई सुरक्षा निकायबीचको सम्पर्कसँग सम्बन्धित भएको संकेत गर्दै थप विवरण दिन अस्वीकार गरे ।
अझै स्पष्ट छैन भ्रमणको उद्देश्य
र्याटक्लिफको मस्को भ्रमणको वास्तविक उद्देश्यबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन । अमेरिका र रुसबीच पछिल्लो समय बन्दी तथा कैदी आदानप्रदानका विषयमा सीआईएको प्रत्यक्ष संलग्नता रहँदै आएको छ ।
सन् २०२५ अप्रिलमा अमेरिकी–रुसी दोहोरो नागरिक केन्सिया करेलिनाको रिहाइमा पनि र्याटक्लिफको भूमिका रहेको थियो । सन् २०२४ मा अमेरिकी पत्रकार इभान गेर्शकोभिच र पूर्व अमेरिकी मरीन पल ह्वेलनको रिहाइसँग सम्बन्धित कैदी आदानप्रदानमा पनि सीआईए संलग्न थियो ।
त्यसैले र्याटक्लिफको भ्रमणलाई सम्भावित बन्दी आदानप्रदानदेखि रुस–युक्रेन युद्धसँग सम्बन्धित संवेदनशील वार्तासम्म विभिन्न कोणबाट हेरिएको छ । यद्यपि यीमध्ये कुनै पनि उद्देश्यको आधिकारिक पुष्टि भएको छैन ।
अर्कोतर्फ, र्याटक्लिफको भ्रमणअघि अमेरिकाले युक्रेनलाई मस्कोमा अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल जाने र उक्त टोली फर्किएसम्म रुसी क्षेत्रमा लामो दूरीका आक्रमण रोक्न आग्रह गरेको एक वरिष्ठ युक्रेनी अधिकारीले सीबीएस न्युजलाई बताएका छन् ।
अमेरिका मध्यस्थतामा रुस र युक्रेनबीच शान्ति वार्ताको प्रयास जारी रहे पनि दुवै पक्षबीच मुख्य विषयमा अझै गहिरो मतभेद छ । यही पृष्ठभूमिमा सीआईए प्रमुखको अचानक मस्को भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।





