दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास

    परदेशमा पनि नेपाली संस्कारको सुवास : यूएईमा जनैपूर्णिमा विशेष कार्यक्रम हुँदै

    कबिराज राजबंशी
    २०८३ भदौ ८ | मध्यान्ह ०५:०५ बजे

      IMG 20260824 WA0183

      प्रवास दुबई, यूएई |

      रोजगारी र विभिन्न सिलसिलामा परदेशमा रहेका नेपालीहरूलाई आफ्नो धर्म, संस्कार र मौलिक संस्कृति नजिक ल्याउने उद्देश्यले यूएईमा जनैपूर्णिमा तथा रक्षाबन्धन विशेष कार्यक्रम आयोजना हुने भएको छ।

      गुरु प्रदीप दाहालको पहलमा आयोजना हुन लागेको उक्त कार्यक्रम आगामी २८ अगस्ट २०२६, शुक्रबार कान्तिपुर फुड स्टफमा हुनेछ। कार्यक्रम बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

      परदेशी भूमिमा नेपाली चाडपर्व र संस्कारलाई निरन्तरता दिने उद्देश्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा सहभागीहरूले धार्मिक विधिअनुसार जनै धारण गर्ने तथा रक्षा डोरो बाँध्ने अवसर पाउनेछन्।

       

      जनैपूर्णिमा केवल धार्मिक पर्व मात्र नभई नेपाली समाजको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व हो। यस दिन जनै फेर्ने, रक्षा डोरो बाँध्ने तथा परिवार, आफन्त र समुदायबीच शुभकामना आदानप्रदान गर्ने परम्परा रहँदै आएको छ। यूएईमा आयोजना हुन लागेको यस कार्यक्रमले व्यस्त प्रवासी जीवनबीच नेपालीहरूलाई एउटै ठाउँमा भेला गराउँदै आफ्नो माटो, संस्कार र संस्कृतिसँग जोडिने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

      गुरु दाहालको यो पहललाई परदेशमा नेपाली मौलिक संस्कृति र धार्मिक परम्पराको निरन्तरताका रूपमा हेरिएको छ। कार्यक्रमले नेपाली समुदायबीचको आपसी भाइचारा, सद्भाव र एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

      आयोजकले यूएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई जनै धारण तथा रक्षा डोरो बाँध्न र नेपाली संस्कृतिको संरक्षणमा हातेमालो गर्न आग्रह गरेका छन्।

        कमेन्टहरु