प्रबास

    पश्चिम एसियाबाट कसरी तेल बाहिर निकालिरहेछन् अमेरिका र केही देशहरू ?

    एजेन्सी
    २०८३ भदौ ७ | मध्यान्ह ०४:०५ बजे

      रियाद । जुलाई २५ को ठीक मध्याह्नमा ग्रीसको स्वामित्वमा रहेको ‘किकु’ नाम गरेको विशाल तेल ट्यांकर कतारको पश्चिमी तटमा रहेको दोहाबाट २५ माइल दक्षिणमा रहेको मेसाइद तेल निर्यात टर्मिनलमा पुग्यो ।

      एक हजार फिटभन्दा लामो ‘भेरी लार्ज क्रुड क्यारियर’ श्रेणीको यो ट्यांकर चार दिनपछि कच्चा तेल बोकेर जहाज स्ट्रेट अफ होर्मुज हुँदै अघि बढ्यो । ट्यांकर फारसको खाडी हुँदै प्रतिघण्टा १३ नटको गतिमा अघि बढिरहेको थियो । यो जहाजको अधिकतम गतिको आसपास थियो । तर जुलाई ३१ मा दिउँसो २ बजेर केही मिनेटपछि दुबईको तटबाट केही पर पुग्दा ट्यांकर अचानक गायब भयो ।

      ट्यांकर ठ्याक्कै कहाँ छ र कतातिर गइरहेको छ भनेर कसैले थाहा नपाओस् भनेर ‘किकु’ले आफ्नो  पहिचान, गति, दिशा र स्थान प्रसारण गर्ने एआईएस ट्रान्सपोन्डर बन्द गरेको थियो । त्यसपछि विश्वभरको समुद्री यातायात निगरानी गर्ने ट्र्याकिङ सेवाका लागि ‘किकु’ एकाएक विलुप्त भयो । अनि अगस्ट १ बिहान १० बजेपछि स्ट्रेट अफ होर्मुजको अर्को छेउमा यसको समुद्री रेडियो उपकरण संकेत देखा पर्‍यो ।

      पछिल्लो समय रातको समयमा अमेरिकी सेनाले इरानी आक्रमणबाट जोगाउन आफ्नो सुरक्षा घेरामा स्ट्रेट अफ होर्मुज भएर आउजाउ गर्ने जहाजलाई यसै गरी स्ट्रेट आर पार गराइरहेका छन् । यही नीतिअनुसार किकुको एआईएस ट्रान्सपोन्डर निकै घन्टासम्म बन्द रहे । यसको उद्देश्य इरानी ड्रोन आक्रमणबाट जोगिनु थियो । एक महिनाअघि पनि होर्मुज क्षेत्रमा ‘किकु’माथि ड्रोन आक्रमण भएको थियो, तर ड्रोन विस्फोट हुन सकेको थिएन ।

      अमेरिकी नौसेनाको सहयोगमा साउदी अरब, कुवेत, कतार र संयुक्त अरब इमिरेट्सका तेल कम्पनीहरूले ट्यांकर भाडामा लिएर तेल होर्मुज पार गराइरहेका छन् । ट्रान्सपोन्डर बन्द गरेर चलाइने यी ट्यांकर फारसको खाडीबाट स्ट्रेट अफ होर्मुज पार गरेर ओमानको खाडी पुग्छन् । त्यहाँ तेल कुरिरहेका ग्राहकका ट्यांकरमा कच्चा तेल खन्याएर यिनीहरू फेरि स्ट्रेट हुँदै आफ्नो पुरानो फर्किन्छन् । यसबाट इरानी आक्रमणको बिनाजोखिम र भौतिक खतरा व्यावसायिक जहाज सञ्चालकबाट हटेर अमेरिकी सरकार र स्वयं तेल उत्पादकको जिम्मामा पुगेको छ ।

      अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार यो निकै रणनीति प्रभावकारी देखिएको छ । यही तरिका अपनाएर स्ट्रेट अफ होर्मुज हुँदै दैनिक औसत ८० लाखदेखि ९० लाख ब्यारेलसम्म तेल ओसारपसार भइरहेको मन्त्रालयले जनाएको छ । यो वाल स्ट्रिटका तेल विश्लेषक र केप्लरजस्ता ढुवानी निगरानी कम्पनीको ट्रान्सपोन्डरको तथ्यांकले देखाएको भन्दा झन्डै दोब्बर हो । यस्ता गोप्य आवतजावतले अहिले पश्चिम एसियाका तेल उद्योगको अवस्था  बदलिदिएको छ ।

      दुई दिनमा ओमानको खाडीमा एक दर्जनभन्दा बढी जहाजबिच कच्चा तेल स्थानान्तरण भएको आफूले देखेको अमेरिकी समाचार संस्था सीएनएनले बताएको छ । तीमध्ये केही जहाज चीन, ताइवान, दक्षिण कोरिया, फिलिपिन्स, भियतनाम र थाइल्यान्डतर्फ गएका छन् । यो जोखिमपूर्ण र महँगो उपाय हो । तर वार्तामार्फत युद्धको अन्त्य र स्ट्रेटका लागि दीर्घकालीन योजना जस्ता स्थायी समाधान ननिस्कँदासम्म यसले तेल बजारलाई ठूलै राहत दिइरहेको छ ।

      tel-west-asia3

      ‘डार्क ट्रान्जिट’

      ऊर्जा बजारका लागि महत्त्वपूर्ण समयमा यस्ता डार्क ट्रान्जिट भइरहेका छन् । इरान युद्ध धेरैले अनुमान गरेभन्दा लामो समयसम्म तानिएको छ । पछिल्ला छ महिनामा विश्वको तेल बजारमा आपूर्ति हुने झन्डै २० प्रतिशत तेल प्रभावित भएको छ । पछिल्ला केही सातामा अवस्था निर्णायक मोडमा पुगेको छ । व्यावसायिक भण्डारमा रहेका अर्बौं ब्यारेल तेल र इन्धन रित्तिँदै गइरहेको छ । अमेरिकाको आपत्कालीन तेल भण्डार सन् १९८० को दशकको सुरुवातयताकै न्यून अवस्थामा पुगेको छ । चीनले अहिले आफ्नो विशाल तेल भण्डार प्रयोग गरिरहेको छ । तर सधैं यो भन्डारले काम गर्दैन । जुन दिन भन्डार निमिट्यान्न हुनेछ विश्व बजारमा कच्चा तेलको भाउ आकाशिएर  प्रतिब्यारेल १५० डलरमाथि उक्लिने पक्कापक्की छ । उता ऋणपत्र बजारका लगानीकर्ता र आमजनताले महँगिएको इन्धनको मूल्यप्रति आफ्नो धैर्य गुमाउँदै गइरहेका छन् ।

      यस्तो कठिन परिस्थितिबिच पश्चिम एसियाका तेल उत्पादकहरूले पछिल्ला केही सातादेखि नयाँ रणनीति प्रयोग गर्न थालेका हुन् । यो पूर्ण समाधान होइन । स्ट्रेट अफ होर्मुज निकै साँघुरो छ । यसको सबैभन्दा चौडा भाग करिब २३ माइल मात्र फराकिलो छ । यहाँ जहाजलाई लुकाउन धेरै ठाउँ नै छैन । ट्रान्सपोन्डर बन्द गरे पनि राडारले जहाज पत्ता लगाउन सक्छ ।

      यसै साता संयुक्त अरब इमिरेट्स (यूएई)का दुई जहाजमाथि आक्रमण पनि भए । केप्लरका अनुसार पछिल्ला दुई सातामा स्ट्रेट अफ होर्मुज भएका करिब ८० प्रतिशत आवतजावत ‘डार्क’ थियो । जहाजहरू इरानबाट सकेसम्म टाढा रहने गरी ओमानको तट आसपासबाट गइरहेका छन् । क्षेत्रीय द्वन्द्वका कारण केही ट्र्याकिङ तथ्यांक जीपीएस जामिङबाट प्रभावित भएकाले वास्तविक अवस्थाको मूल्यांकन गर्न कठिन भएको छ ।

      यो नयाँ रणनीति प्रयोग गर्ने अन्य जहाजजस्तै ‘किकु’ पनि ट्रान्सपोन्डर बन्द गरेको एक दिनपछि यूएईको बन्दरगाह सहर फुजैराहनजिकै फेरि देखियो । ट्रान्सपोन्डरको संकेत पुनः आउन थालेपछि ‘किकु’ त्यहाँ एक दिनअघि नै ओमानको खाडी पुगेको अर्को ग्रीक सुपरट्यांकर ‘नेभ इलेक्ट्रोन’सँगै रोकियो । दुवै जहाज एक सातासम्म सँगै रहे अनि एकमा भएको तेल अर्कोमा सारे । अगस्ट ८ मा छुट्टिएपछि तेल भरिएको ‘नेभ इलेक्ट्रोन’ खाडीबाट बाहिरियो र चीनको निङ्बोतर्फ जान भनेर अरब सागरतर्फ लाग्यो । ‘किकु’ भने करिब अगस्ट १४ सम्म फुजैराहको तटमै रह्यो । अनि ट्रान्सपोन्डर बन्द गरेर हिड्यो । भोलिपल्ट साँझ ४ बज्नुअघि यसको संकेत फेरि फारसको खाडीमा देखियो । यतिबेला जहाज कतारतर्फ फर्किरहेको थियो ।

      उल्टियो इरानको तेल निर्यात हुन नदिने खेल

      अमेरिकी सुरक्षा घेरामा गरिएका यी डार्क ट्रान्जिट पश्चिम एसियाका तेल उत्पादकले विश्वभरका ग्राहकलाई निर्यात गर्न सक्ने तेलको मात्रा बढाउँदै इरानको खेल उल्ट्याएको पछिल्लो उदाहरण हो । विशेषगरी साउदी अरबले फारसको खाडीमा प्रतीक्षारत तेल ट्यांकरमा पठाइनुपर्ने दैनिक करिब ५० लाख ब्यारेल तेलको मार्ग परिवर्तन गरेको छ । उक्त तेल अब इस्ट–वेस्ट पाइपलाइनमार्फत लाल सागरस्थित यान्बु बन्दरगाहमा पुर्‍याइन्छ । पश्चिम एसियाका अन्य तेल उत्पादकले दैनिक थप २० लाख ब्यारेल प्रतिदिनको तेल अन्त्रयबाट लगिरहेका छन् ।

      विश्वका अन्य मुलुकमा पनि उत्पादन बढाइएको छ । ब्राजिल, गुयाना र भेनेजुएलाले संयुक्त रूपमा दैनिक १० लाख ब्यारेलभन्दा बढी अतिरिक्त तेल बजारमा लगिरहेका छन् । अमेरिकाले पनि दैनिक केही लाख ब्यारेल अरु तेल बजारमा पठाइरहेको छ । यसका साथै महिनौँदेखि कम समन्वय र सैन्य सुरक्षा नभएका डार्क ट्रान्जिट पनि भइरहेका छन् ।

      अर्कोतर्फ, अमेरिकाले आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाएको छ । यसले स्ट्राटेजिक पेट्रोलियम रिजर्भको भण्डार ठुलो मात्रामा घटाएको छ । चीनले पनि कच्चा तेलको आयातमा उल्लेख्य कटौती गरेर आफ्नो विशाल तेल भण्डारबाट ठुलो मात्रामा तेल झिकिरहेको छ । मूल्य बढेपछि विश्वव्यापी मागसमेत उल्लेख्य घटेको छ । यसले तेल बजारलाई सन्तुलनमा राख्न र खाँचोमा रहेका ग्राहकसम्म तेल पुर्‍याउन मद्दत मिलेको छ । बजारले तेल पाउने कुनै न कुनै बाटो भेटिरहेको छ । युद्ध सुरु हुँदा सबैभन्दा जानकार विशेषज्ञले अनुमान गरेभन्दा तेल बजार निकै जटिल तर धेरै लचिलो साबित भएको छ ।

      tel-west-asia2

      अस्थायी समाधान

      स्ट्रेट अफ होर्मुजको राडार र स्याटेलाइट तस्बिरले ट्रान्सपोन्डरको तथ्यांकले देख्न नसकेको अवस्था उजागर गर्छ । उदाहरणका लागि, अगस्ट १४ का स्याटेलाइट तस्बिरमा होर्मुज जलडमरू हुँदै ओमानको तट वरिपरि घुमेको बिन्दुहरूको लामो लहर देखिन्छ । तर ती बिन्दु सोही दिन र समयका जहाज ट्र्याकिङ तथ्यांकसँग मेल खाँदैनन् । ती ‘बिन्दु’ वास्तवमा डार्क भएका जहाज थिए । अगस्ट ७ मा ट्रान्सपोन्डरको तथ्यांकमा ग्रीक स्वामित्वका दुई ट्यांकर ओमानको खाडीमा एकअर्काको छेउमा देखिए ।

      स्याटेलाइट तस्बिरमा डार्क अवस्थामा स्ट्रेट पार गरिसकेको ‘निसोस किथ्नोस’ नामको शटल ट्यांकर ‘फ्रन्ट ओट्रा’सँगै रहेको देखिन्छ । अगस्ट १४ मा ‘फ्रन्ट ओट्रा’ ताइवानका लागि भनेर अरब सागरतिर गयो । ‘निसोस किथियोस’ भने तेल हाल्न भनेर फेरि फारसको खाडीमा फर्किसकेको थियो । तर यही तरिकाले सधैं काम गरिरहन सक्दैन ।

      युद्धका क्रममा विश्वभरका तेल भण्डार १ अर्ब ९० करोड ब्यारेलसम्म घटिसकेको छ । बजार सन्तुलनमा फर्किए भने पनि ती भण्डार पुनः भर्नुपर्ने हुन्छ, नत्र अर्को संकट आउन सक्छ । केही गरी बजार सन्तुलनमा आएन भने भण्डार रित्तिदै यति न्यून तहमा पुग्नेछ कि विश्वको तेल माग धान्न त्यसमा भर पर्न सकिने छैन । त्यसपछि यस्तो मोड आउन सक्छ, जहाँ थप माग घटाउन तेलको मूल्य उल्लेख्य रूपमा बढाउनु नै एकमात्र उपाय बन्नेछ ।

      इन्धन बजारमा यस्तै समस्या देखिइसकेको छ । विश्वका चार प्रमुख रिफाइनिङ हबमध्ये तीनवटा गम्भीर संकटमा छन् । इरान युद्धले पश्चिम एसियाका रिफाइनरीमा क्षति पुर्‍याएको छ र त्यस क्षेत्रबाट इन्धन निर्यात सुस्त बनाएको छ । अर्को प्रमुख इन्धन आपूर्तिकर्ता रुस पनि युक्रेनसँगको युद्धका कारण प्रभावित भएको छ । युक्रेनी ड्रोनले रुसी रिफाइनरीलाई निशाना बनाएका छन् । आफ्नै देशमा इन्धन अभाव भएपछि मस्कोले इन्धन निर्यात कटौती गरेको छ ।

      चीनले घरेलु बजारमा इन्धन अभाव हुन नदिन प्रशोधित इन्धनको निर्यात सीमित गरिरहेको छ । चीन सामान्य अवस्थामा ठुलो इन्धन निर्यातकर्ता हो । त्यसैले पनि उसका लागि यो जरुरी छ । यसले विश्वव्यापी माग धान्ने जिम्मेवारी यतिबेला अमेरिकाको खाडी तटका रिफाइनरीमाथि परेको छ । तर अमेरिकी रिफाइनरीहरू सधैँ पूर्ण क्षमतामा सञ्चालन गर्न सक्दैनन् । उत्पादन गर्ने रिफाइनिङ क्षमता सीमित छ तर डिजेल र जेट इन्धनको माग अत्यधिक बढेका छन् । त्यसैले इन्धनको मूल्य कच्चा तेलको मूल्यबाट अपेक्षा गरिने स्तरभन्दा पनि धेरै माथि पुगेको छ ।

      वार्तामा चाँडै सफलता मिल्ने भनेर बताउँदै बताउँदै राष्ट्रपति डोनाल्ड ट्रम्प महिनौँसम्म तेलको मूल्य घटाउन सफल भएका थिए । तर पछिल्लो समय उनको योजना फेरिएको छ । इरानलाई दबाबमा पार्ने र इरानका बन्दरगाहमाथि लामो समयसम्म नौसैनिक नाकाबन्दी गर्दै ‘कठोर आर्थिक अभियान’ सञ्चालन गर्ने अमेरिकाको नयाँ रणनीति बनेको छ । यसले तेलको मूल्य केही सातादेखि निरन्तर बढाएको छ र प्रतिब्यारेल १०० डलरको नजिक पुर्‍याएको छ ।

      दुवै देश युद्धको जटिल र सहजै समाधान नहुने अवस्थामा फसेका बेला स्ट्रेट अफ होर्मुज नियन्त्रणका लागि जारी संघर्षले तेल, विशेषगरी ग्यास, डिजेल र जेट इन्धनको मूल्य उपभोक्ताका लागि असहज रूपमा उच्च बनाएको छ । यसले मुद्रास्फीति बढाउनुका साथै मानिसको खर्च गर्न सक्ने आम्दानी घटाएको छ । तर द्वन्द्वका बिच पनि बजारले कम्तीमा आंशिक भए पनि तेल ल्याउन सकिरहेको छ ।

      यही कारण विश्वले अहिलेसम्मकै ठुलो तेल आपूर्ति संकट भोगिरहँदा पनि तेलको भाउ सोच्नै नसकिने स्तरमा पुगिसकेको छैन । तर वार्ताबाट युद्धको समाधान ननिस्किने अवस्थामा यस्तो कति दिनसम्म होला भनेर भन्न सकिने अवस्था छैन ।

        कमेन्टहरु