अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि


अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ–नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको सङ्क्रमण देखिएपछि अधिकारीहरूले पुष्टि गरेका हुन् ।
कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले सङ्क्रमित सिल दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको बीचपोर्टमा फेला परेको बताइन् ।“अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो”, कोलिन्सले पत्रकारहरूलाई बताइन् ।
अधिकारीहरूका अनुसार अस्ट्रेलियाभर एच–५ बर्ड फ्लुका २९८ सङ्क्रमण पुष्टि भएका छन् । तीमध्ये १८३ वटा घटना दक्षिण अस्ट्रेलियामा देखिएका छन् ।
यद्यपि, अस्ट्रेलियाको कुखुरापालन तथा कृषि उत्पादन प्रणालीमा एच–५ बर्ड फ्लुको सङ्क्रमण फैलिएको कुनै प्रमाण फेला नपरेको अधिकारीहरूले बताएका छन् ।





