बाढी/पहिरो

    पहिरोले विभिन्न सडक अवरुद्ध

    रासस
    २०८३ भदौ ७ | बिहान १०:०५ बजे

      काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।

      प्रहरी प्रधान कार्यालयले जारी गरेको आज बिहानसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।

      काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ ६:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४:०० बजेदेखि बेलुका १८:०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।

      मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति ५:०० बजेदेखि बिहान ०५:०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

      नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति २२:०० बजेदेखि बिहान ०५:०० बजेसम्म आवागमन बन्द गरिएको छ ।

      उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जनाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ ।

      सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका–२ लिपिङस्थित सडक भासिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

      रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, गोसाइकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

      रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

      यसैगरी, रोल्पाको थवाङ गाउँपालिका–२ लाद्रेमा पहिरो खस्दा सहिद राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । लाद्रेमा आज बिहान पहिरो खसेको हो ।

      सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ ।

        कमेन्टहरु