पूर्वी जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते


टोकियो । पूर्वी जापानमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण विभिन्न चार प्रिफेक्चरमा कम्तीमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको अधिकारीहरूले बताएका छन् । भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाइएको छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान २ बजे इबाराकी प्रिफेक्चर केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको गहिराइ केन्द्रबाट करिब ७० किलोमिटर तल रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको प्रारम्भिक तीव्रता ५.८ म्याग्निच्युड रहेको जनाएको छ ।
भूकम्पबाट साइतामा र कानागावामा नौ–नौ जना, चिबामा चार जना तथा इबाराकीमा एक जना घाइते भएका छन् । धेरैजसो मानिस सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि आत्तिएर ओछ्यानबाट उठ्दा लडेर वा फर्निचर तथा ढोकामा ठोक्किएर घाइते भएको अधिकारीहरूले बताएका छन् । कानागावाको योकोहामामा ८० वर्ष उमेर आसपासकी एक महिला ओछ्यानबाट खसेर गम्भीर रूपमा घाइते भएकी छन् । उनको कम्मरमा चोट लागेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
भूकम्पपछि टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेल सेवासहित पूर्वोत्तर क्षेत्रका केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो । तर, शिन्कान्सेन बुलेट ट्रेन सेवा भने सामान्य रूपमा सञ्चालनमा रहेको ईस्ट जापान रेलवेले जनाएको छ । भूकम्पको क्षतिको अवस्था बुझ्न जापान सरकारले आपत्कालीन कार्यदल गठन गरेको छ । प्रधानमन्त्री सानाए ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत सरकारले अवस्थाको मूल्यांकन गरिरहेको जानकारी दिएकी छन् ।
जापान भूकम्पको उच्च जोखिममा रहेको देश हो । यहाँ बारम्बार भुकम्व गइरहन्छ । गत महिना दक्षिणी जापानको क्युसु टापुस्थित कुमामोतो क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ३८ जनाको मृत्यु भएको थियो भने ३६४ जना घाइते भएका थिए । उक्त भूकम्पमा १ हजार ५०० भन्दा बढी भवन पूर्ण रूपमा ध्वस्त भएका थिए भने करिब २० हजार भवनमा क्षति पुगेको थियो।





