खोटाङमा तीन विपन्न परिवारलाई नगरपालिकाले बनाइदियो भूकम्प प्रतिरोधी घर


खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक विपन्नताका कारण घर बनाउन नसकेका तीन परिवारलाई नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले प्रतिपरिवार पाँच लाख रुपैयाँको लागतमा दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर बनाइदिएको हो। नगरपालिकाको १३६औँ कार्यपालिका बैठकको निर्णयानुसार ती घरहरू निर्माण गरिएका हुन्।
नयाँ घर पाउनेहरूमा वडा नं २ डिकुवाका देशवीर राई, वडा नं ६ मङ्गलटारका भया दमाई र वडा नं १० अर्खौलेका टेकबहादुर सार्कीको परिवार रहेका छन्। आफ्नै घर नहुँदा लामो समयदेखि कष्टकर र असुरक्षित जीवन बिताउँदै आएका यी परिवार नयाँ घर पाएपछि निकै खुसी भएका छन्।
डिकुवाका वृद्ध दम्पती देशवीर राई यसअघि जीर्ण कटेरोमा बस्दै आएका थिए भने मङ्गलटारका अपाङ्गता भएका दाजुबहिनी चामे र भया दमाईको अवस्था पनि निकै दयनीय थियो।
यस्तै, १२ वर्षपछि गाउँ फर्किएका टेकबहादुर सार्कीको परिवार अर्काको घरमा आश्रय लिएर बसिरहेको थियो। दिक्तेलमा रहँदा १२ वर्षीया छोरी गुमाएपछि गाउँ फर्किएको सार्की परिवारलाई यसअघि नगरपालिकाले खाद्यान्न र नगद सहयोगसमेत उपलब्ध गराएको थियो।
नगर प्रमुख विमला राईका अनुसार नगरपालिकाभित्रका सबै नागरिकलाई सुरक्षित आवासको प्रत्याभूति गराउने उद्देश्यले यो कदम चालिएको हो। काठमाडौँ तथा तराईका विभिन्न जिल्लामा अस्थायी टहरामा बसेका र पछि विस्थापित भई गाउँ फर्किन चाहेका नगरवासीलाई पनि आफ्नै नाममा जग्गा भए प्रतिपरिवार पाँच लाख रुपैयाँ बराबरको घर बनाइदिने नगरपालिकाको योजना रहेको छ।





