दिल्लीमा स्वाइन फ्लूको संक्रमण तीव्र, एच१एन१ संक्रमित १ हजार ७७७ पुगे


नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा स्वाइन फ्लू अर्थात् एच१एन१ संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । यस वर्ष हालसम्म दिल्लीमा एच१एन१ संक्रमण पुष्टि हुनेको संख्या १ हजार ७७७ पुगेको छ । पछिल्लो एकै दिनमा मात्रै ११४ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य अधिकारीका अनुसार अगस्ट ६ सम्म दिल्लीमा एच१एन१ का १ हजार ३४४ मामला थिए । त्यसपछि केवल १४ दिनमा ४३३ नयाँ संक्रमित थपिएका हुन् । गत वर्ष यही अवधिमा २२९ जना मात्रै संक्रमित भएका थिए । यस हिसाबले गत वर्षको तुलनामा यस वर्ष संक्रमितको संख्या करिब आठ गुणा बढेको छ ।
दिल्लीका स्वास्थ्यमन्त्री सिंहले संक्रमणको अवस्थामाथि निरन्तर निगरानी भइरहेको बताउँदै सरकारी अस्पतालहरूलाई पर्याप्त उपचार व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिएका छन् ।
संक्रमणको ढाँचा, प्रभावित क्षेत्र तथा सम्भावित ‘हटस्पट’ पहिचान गर्न निगरानी बढाइएको छ । स्वाइन फ्लूका बिरामीका लागि अस्पतालहरूमा छुट्टै वार्डको व्यवस्था पनि गर्न थालिएको छ ।





