बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच


बाँके । बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालयस्तरमा स्वास्थ्यकर्मीको टोली खटाएर छात्राको रगतमा हेमोग्लोबिनको मात्रा परीक्षण गर्ने र आवश्यक परामर्श तथा उपचार दिने नमुना अभियान थालेको हो ।
गाउँपालिका उपाध्यक्ष निर्मला रोकायका अनुसार मातृ मृत्युदर घटाउने तथा गर्भवती अवस्थाका जटिलता समयमै पहिल्याउने उद्देश्यले गाउँपालिकाले आन्तरिक स्रोत जुटाएर निः शुल्क ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा पनि सञ्चालनमा ल्याइएको छ ।
बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीका अनुसार बैजनाथका आठ वटै वडामा स्वास्थ्य संस्था क्रियाशील छन् । बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको टोली कार्यरत छ भने चिसापानी, नौवस्ता र टिटिहिरियामा स्वास्थ्य चौकी तथा अन्य वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित रहेका उहाँले जानकारी दिनुभयो । सङ्क्रमण तथा विपद् व्यवस्थापनका लागि पालिका र वडास्तरमा ‘रेपिड रेस्पोन्स टिम’ समेत परिचालन गरिएको छ ।
सामाजिक विकास समिति संयोजक भूमिसरा रानाले सीमान्तकृत वर्ग, आमा र शिशुको स्वास्थ्य सुधारका लागि आधुनिक प्रविधि र घरदैलोमै पुग्ने स्वयंसेविकामार्फत गुणस्तरीय सेवा प्रवाह भइरहेको बताइन् ।





