पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

रासस
२०८३ भदौ ६ | मध्यान्ह ०२:०५ बजे

पोखरा । पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण मादी गाउँपालिका-१ पदुखोला क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
मादी-१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि आज बिहान खिलाङ र पार्चेबीचको पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने बाटो बन्द भएको जानकारी दिए । मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ढलान क्षति भएको उनले बताए ।
सडक खुलाउन केही समय लाग्न सक्ने भएकाले सिक्लेस जाने पर्यटकलाई आइतबारसम्म यात्राको योजना नबनाउन वडाध्यक्ष गुरुङले आग्रह गरे । “बाटो खुलाउन आइतबारसम्म लाग्न पनि सक्छ । त्यसैले सिक्लेस घुम्न आउने योजना बनाउनुभएका पर्यटकलाई आइतबारसम्म रोकिन आग्रह गर्दछौँ”, उनले भने ।





