मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय


चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नामावली शुद्धीकरणको कामलाई तीव्रता दिएको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार पछिल्लो निर्वाचनमा चितवनमा चार लाख ४२ हजार ८२ मतदाता रहेकामा ती मतदाताको विवरण अद्यावधिक गर्ने काम भइरहेको हो ।
विशेषगरी मृत्यु भएका मतदाताको नाम हटाउनेलगायत विवरण शुद्धीकरण गर्नुपर्ने भएकाले कार्यालयले भरतपुर महानगरपालिकाबाट काम सुरु गरेको कार्कीले बताए । उनका अनुसार कार्यालय रहेको वडा १० बाट सुरु गरिएको शुद्धीकरण कार्यक्रमअनुसार भरतपुर महानगरपालिकाका २९ वटै वडामा क्रमशः काम गरिनेछ । त्यसपछि अन्य पालिकामा शुद्धीकरणको काम गरिने कार्कीले बताए ।
भरतपुर महानगरपालिकाका सबै वडाबाट यही भदौ १० गतेसम्म विवरण माग गरिने र १५ गतेभित्र महानगरपालिकाको मतदाता नामावली शुद्धीकरणको काम सम्पन्न गरिने उनले बताए । आगामी असोज २ गतेदेखि जिल्लाका अन्य स्थानीय तहमा मतदाता नामावली शुद्धीकरणको काम सुरु गरिने कार्कीले जानकारी दिए ।
मृत्यु भएका परिवारका सदस्य वा आफन्तले मृत्यु दर्ता प्रमाणपत्रसहित जिल्ला निर्वाचन कार्यालयमा आएर जानकारी गराई मतदाता नामावली अद्यावधिकमा सहयोग गर्न प्रमुख कार्कीले सबैमा आग्रह गरे । राष्ट्रिय परिचयपत्र प्राप्त गरेका नागरिकले परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा दर्ता गर्न सक्ने व्यवस्था गरिएको उनले बताए ।
राष्ट्रिय परिचयपत्र नभएका नागरिकले निर्वाचन आयोगको प्रणालीमार्फत अनलाइन फारम भरी जैविक विवरणका लागि जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्ने उनले बताए । मतदाता नामावलीमा रहेका नाम, थर, ठेगानालगायत त्रुटि सच्याउने, आफूलाई पायक पर्ने मतदानस्थल परिवर्तन गर्ने, दोहोरो नाम हटाउने तथा मृत्यु वा बसाइँसराइका कारण विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइनमार्फत आवेदन दिन सकिने उनले जानकारी दिए ।
यसैगरी, पछिल्लो निर्वाचनयता चितवनमा छ हजार ७७५ जना नयाँ मतदाता थपिएको प्रमुख कार्कीले जानकारी दिए ।





