टिकटकले बालबालिकाको गोपनीयता उल्लङ्घन मुद्दा टुङ्ग्याउन अमेरिकालाई ४० करोड डलर तिर्ने


सान फ्रान्सिस्को । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको आरोपमा अमेरिकासँगको मुद्दा टुङ्ग्याउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको छ । यो बालबालिकाको अनलाइन गोपनीयतासम्बन्धी मुद्दामा अमेरिकामा भएको सबैभन्दा ठुलो जरिवाना तथा सम्झौतामध्ये एक हो ।
अमेरिकी न्याय विभागले पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा सन् २०२४ मा दायर गरेको मुद्दामा टिकटक र यसको मूल कम्पनी बाइटडान्सले १३ वर्षमुनिका लाखौँ प्रयोगकर्ताको ‘ठुलो मात्रामा व्यक्तिगत डेटा’ सङ्कलन गरेको आरोप लगाएको थियो ।
अमेरिकी न्याय विभागका सहायक महान्यायाधिवक्ता ब्रेट शुमेटले भने, ‘यो मुद्दा सुरु हुँदाको अवस्थाभन्दा अहिले बालबालिका र अभिभावकहरू बढी सुरक्षित छन् ।’
सम्झौताअनुसार टिकटक र बाइटडान्सले तत्काल अमेरिकी न्याय विभागलाई ३० करोड डलर तिर्नेछन् । थप १० करोड डलर भने सङ्घीय व्यापार आयोग (एफटीसी) सँगको सन् २०१९ को सहमति आदेश हटाइएपछि तिर्नुपर्नेछ ।
टिकटकको पूर्ववर्ती कम्पनी म्युजिकल्लीले पनि सन् २०१९ मा सीओपीपीए उल्लङ्घन गरेको आरोपमा ५७ लाख डलर जरिवाना तिरेको थियो । त्यसबेला कम्पनीलाई १३ वर्षमुनिका प्रयोगकर्ताका लागि अभिभावकको सहमति सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
न्याय विभागले शुक्रबार सम्झौतासँगै टिकटकविरुद्ध थप कस्तो कारबाही गरिने भन्ने विस्तृत जानकारी दिएको छैन । तर विभागले मुद्दा दायर भएयता टिकटकको स्वामित्व, गोपनीयता अभ्यास र कम उमेरका प्रयोगकर्ताका लागि प्लेटफर्म नियन्त्रणलगायत क्षेत्रमा ‘महत्त्वपूर्ण उपलव्धि’ भएको जनाएको छ ।
सन् २०२४ मा मुद्दा दायर गर्दा अमेरिकी अधिकारीहरूले टिकटकमा १७ करोडभन्दा बढी किशोरकिशोरी प्रयोगकर्ता रहेको र एप बालबालिकालाई लक्षित हुने बताएका थिए । तर, कम्पनीले प्रयोगकर्ताको उमेर प्रभावकारी रूपमा पहिचान नगरेको र उमेर नपुगेका प्रयोगकर्ताका लागि अभिभावकको सहमति नलिएको अमेरिकी पक्षको आरोप थियो ।
टिकटकमाथि अमेरिकामा पछिल्ला वर्षहरूमा व्यापक दबाब रहँदै आएको छ । सन् २०२४ मा पूर्वराष्ट्रपति बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने वा यसको अमेरिकी व्यवसाय छुट्ट्याउनुपर्ने पक्षमा कानुनी कदम अघि बढाएका थिए । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी सञ्चालन चिनियाँ मूल कम्पनीबाट अलग गर्ने योजनालाई समर्थन गरेका थिए ।
गत वर्ष टिकटकको अमेरिकी व्यवसायको स्वामित्व संरचनामा परिवर्तन भएको थियो । अहिले अमेरिकी सञ्चालनको ८१ प्रतिशत हिस्सा लगानीकर्ताहरूको एक समूहसँग छ भने बाइटडान्ससँग १९ प्रतिशत हिस्सा कायम रहेको बताइएको छ ।
यसैबिच, बालबालिकाको डिजिटल गोपनीयताका विषयमा अमेरिकी सरकारले ठूला प्रविधि कम्पनीमाथि निगरानी र कानुनी कारबाही बढाउँदै आएको छ । गुगलको भिडियो प्लेटफर्म युट्युबले सन् २०१९ मा सीओपीपीए उल्लंघनको आरोपमा १७ करोड डलर तिरेको थियो भने एपिक गेम्सले सन् २०२२ मा २७ करोड डलर तिरेको थियो ।
मेटामाथि पनि २९ अमेरिकी राज्यका महान्यायाधिवक्ताले सीओपीपीए उल्लङ्घन गरेको आरोप लगाएका छन् । उक्त मुद्दामा इन्स्टाग्राम र फेसबुकको सञ्चालक मेटाले बाल प्रयोगकर्तालाई लक्षित गरी उनीहरूबाट आर्थिक लाभ उठाएको आरोपको सामना गरिरहेको छ ।





