बिश्व

    इरानलाई सघाउने देशले गम्भीर आर्थिक परिणाम भोग्ने ट्रम्पको चेतावनी

    एजेन्सी
    २०८३ भदौ ४ | बिहान ११:०५ बजे

      वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कुनै पनि प्रकारको सहयोग वा आर्थिक सहारा दिने देशले गम्भीर आर्थिक परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् । ६ महिना अघि इजरायलसँग मिलेर इरानमा सुरु गरेको युद्ध अन्त्य गर्न प्रयास बारम्बार असफल भइरहेको समयमा ट्रम्पले यो चेतावनी दिएका हुन् ।

      इरान युद्ध सुरु भएयता खाडी क्षेत्रमा हजारौँ मानिसको ज्यान गइसकेको छ । इरान युद्धका कारण महत्त्वपूर्ण तेल ढुवानी मार्ग स्टेट अफ होर्मुज ठप्पप्रायः बनेसँगै विश्व बजारमा समेत यसले ठुलो प्रभाव पारेको छ । युद्ध सुरु हुनुअघि विश्वभर आपूर्ति हुने झन्डै २० प्रतिशत तेल यही जलमार्ग हुँदै ओसारपसार हुन्थ्यो ।

      ट्रम्पले बुधबार सामाजिक सञ्जालमार्फत इरानलाई सहयोग गर्ने देशविरुद्ध ‘अभूतपूर्व स्तरको आर्थिक युद्ध र एक्लाउने नीति’ अपनाउने बताएका छन् । उनले इरानलाई सहयोग गर्ने देशका वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायले कुनै पनि प्रकारको सहारा उपलब्ध गराएमा ती देशले ‘ठुलो आर्थिक परिणाम’ भोग्नुपर्ने चेतावनी दिए ।

      तर ट्रम्पले त्यस्तो सहयोग गर्ने देशमाथि अमेरिकाले कस्ता ठोस कदम चाल्नेछ भन्नेबारे विस्तृत जानकारी दिएका छैनन् । उनले कुनै देशको नाम पनि उल्लेख गरेका छैनन् । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि करिब पाँच दशकदेखि अमेरिकी आर्थिक प्रतिबन्धको सामना गर्दै आएको छ ।

      अमेरिका र इरानबिच स्टेट अफ होर्मुजबाट युद्धअघि जस्तै सहज रूपमा जहाज आवागमन पुनः सुरु गर्ने उद्देश्यले अप्रिल र जुनमा दुईपटक युद्धविराम सम्झौता घोषणा गरिएको थियो । तर दुवै सम्झौता छोटो समयमै विफल भए । यसबिच इजरायल भने युद्धबाट ठुलो मात्रामा पछि हटेको बताइएको छ ।

      अमेरिकाको प्रमुख सैन्य आधार रहेको संयुक्त अरब इमिरेट्स (यूएई)ले मंगलबार इरानसँगको सबै व्यापारिक गतिविधि, व्यावसायिक आदानप्रदान र वित्तीय कारोबार अनिश्चितकालका लागि रोक्ने घोषणा गरेको थियो । युएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका दुईवटा क्षेप्यास्त्र समुद्रमा खसेको पत्ता लगाएको दाबी गरेपछि उक्त निर्णय आएको हो । तर इरानले युएईको दाबीलाई आधारहीन भनेको छ ।

      इरानको तेल निर्यातको ठुलो हिस्सा चीनले खरिद गर्दै आएको छ। विश्लेषणात्मक संस्था केप्लरका सन् २०२५ का तथ्यांकअनुसार इरानबाट समुद्री मार्ग हुँदै निर्यात हुने तेलको ८० प्रतिशतभन्दा बढी चीनले किनेको थियो । तर इरानलाई सहयोग गरेको भन्दै चीनमाथि थप आर्थिक दबाब बढाउँदा अमेरिकाले समेत जोखिम मोल्नुपर्ने अवस्था छ । चीन अमेरिकाको ठुलो व्यापारिक साझेदार हुनुका साथै दुर्लभ खनिजलगायत महत्त्वपूर्ण सामग्रीको प्रमुख आपूर्तिकर्ता हो । यसकारण चीनमाथि थप आर्थिक कारबाही गर्दा चीनले प्रतिकारात्मक कदम चाल्ने जोखिम पनि छ ।

      इरानका सर्वोच्च नेताका सल्लाहकार मोहम्मद मुखबरले इरान अमेरिका संवादका लागि खुला रहेको तर वार्तालाई आत्मसमर्पणका रूपमा नलिने बताएका छन् ।सैन्य दबाब र प्रतिबन्धले इरानको अडान कमजोर पार्न नसक्ने उनको जिकिर छ । तर ट्रम्पले मंगलबार इरानसँग कुनै वार्ता भई नरहेको बताएका थिए । त्यसको एक दिनअघि उनका ज्वाइँ तथा विशेष दूत जारेड कुशनरले भने इरानसँगको वार्ता जारी रहेको र पहिलेभन्दा अझ सक्रिय रहेको बताएका थिए ।

      ट्रम्पले इरानसँग नयाँ र अझ कडा आणविक सम्झौता गर्न चाहेका छन् । इरानको अत्यधिक समृद्ध युरेनियमको भण्डार नियन्त्रणमा लिन र उसको आणविक ऊर्जा तथा अनुसन्धान कार्यक्रमलाई थप कडाइका साथ सीमित गर्ने ट्रम्पको आशय छ । अमेरिकाले सन् २०१८ मा एकतर्फी रूपमा पुरानो आणविक सम्झौताबाट बाहिरिएको थियो । इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।

        कमेन्टहरु