विश्व

    ट्रम्पले रोके क्यानडामाथिको नयाँ ट्यारिफ

    एजेन्सी
    २०८३ भदौ ३ | मध्यान्ह १२:०५ बजे

      वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा नयाँ अतिरिक्त भन्सार महसुल कार्यान्वयनमा ढिलाइ गर्ने भएका छन् । क्यानडाले अमेरिकासँग व्यापार सम्झौता बलियो बनाइरहेकोले तीन दिनका लागि यो कदम चालिएको ट्रम्पले बताएका छन् ।

      ‘मैले भोलि बिहानदेखि लागू हुने क्रममा रहेको क्यानडामाथिको ५० प्रतिशतको ट्यारिफ रोकेको छुँ,’ क्यानडा र अमेरिकाले कागजपत्रहरूलाई अन्तिम रूप दिइरहेको र सम्झौता हुने आशा गर्दै उनले भने ।

      २० अर्ब डलर बराबरका क्यानडेली सामानमाथि ५० प्रतिशत अतिरिक्त कर लाग्नु २ घण्टाभन्दा कम समय बाँकी रहँदा ट्रम्पको यो घोषणा आएको हो । क्यानडेली अटोमा अमेरिकाले लगाएको ट्यारिफ र क्यानडाका कयौँ प्रान्तले अमेरिकी रक्सी बिक्रीमा लगाएको रोक लगायत कयौँ विषयमा दुई पक्षबिच कुरा मिल्न नसक्दा सम्झौतामा ढिलाइ भइरहेको छ ।

      ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यो हप्तामा मात्रै दुई पटक फोनमा कुराकानी गरिसकेका छन् । अगष्ट १९ मा ट्रम्पले क्यानडाबाट आउने सामानमा उच्च ट्यारिफ लगाउने घोषणा गरेपछि जुलाईयता दुई देशका व्यापार वार्ताकारहरूले गहन छलफलमा व्यस्त छन् ।

      ‘उल्लेख्य प्रगति भइसकेको छ, यद्यपि, महत्त्वपूर्ण कामहरू भने गर्न बाँकी नै छन्,’ माइक्रोब्लगिङ वेबसाइट एक्समा पोस्ट गरिएको एउटा पत्रमा कार्नीले भनेका छन् ।

      यस पोस्टमा उनले अन्तिम व्यापार सम्झौताले तेल पाइपलाइन किस्टोन एक्सएल ब्युँताउने अनुमति दिन सक्ने ट्रम्पले भनेको पनि उल्लेख गरेका छन् ।

      यो पाइप लाइनले क्यानडाको अल्बेर्टा र अमेरिकालाई जोड्छ । यसलाई ओबामा र बाइडेन दुवै प्रशासनले रोकेका थिए । वातावरणविद् र आदिवासी समूहहरूले लामो समयदेखि पाइप लाइनको विरोध गर्दै आएका छन् तर ट्रम्पले यो परियोजनालाई पुनर्जीवित गर्न चाहन्छु भनेर बारम्बार भनेका छन् । यो पाइपलाइनबाट दैनिक ८ लाख ३० ब्यारेल तेल अमेरिका प्रशोधनका लागि जान्थ्यो ।

        कमेन्टहरु