दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास, मनोरन्जन, साहित्य

    सिर्जना, शब्द र स्रष्टाको संगम : युएईमा २९औँ सिर्जना वाचन डबली सम्पन्न

    कबिराज राजबंशी
    २०८३ भदौ २ | बिहान ११:०५ बजे

      FB IMG 1787030088980

      प्रवास दुबई, युएई — १८अगस्ट २०२६।

      प्रवासको व्यस्त दैनिकीबीच नेपाली भाषा, साहित्य र सिर्जनालाई जीवन्त राख्ने अभियानमा सक्रिय सिर्जना वाचन डबली, युएईको २९औँ शृङ्खला १६ अगस्बत आइतबारको दिन वर दुवई आब्रास्थित गाउँबेशी रेष्टुरेन्टमा साहित्यिक उल्लासका साथ सम्पन्न भएको छ।

      साहित्यप्रेमी, सर्जक र दर्शकहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न कार्यक्रममा कविता, गजल, मुक्तक लगायतका मौलिक रचनाले वातावरणलाई सिर्जनात्मक र साहित्यिक बनाएको थियो। कार्यक्रममा करिब ७०–८० जनाको सहभागिता रहेको थियो।

      सिर्जना वाचन डबलीका संरक्षक टक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन जे. सागरले गर्नुभएको थियो भने सञ्चालन भवानी नेपालले गर्नुभएको थियो। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व सह-संयोजक विकास शाही प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

       

      रचनासँगै सार्वजनिक भयो डबलीको नयाँ पहिचान

      २९औँ शृङ्खलाको विशेष आकर्षणका रूपमा सिर्जना वाचन डबलीको लोगो अंकित पोशाक सार्वजनिक गरिएको थियो। डबलीको संस्थागत पहिचानलाई थप मजबुत बनाउने उद्देश्यले सार्वजनिक गरिएको उक्त पोशाकका लागि सहयोग तथा प्रायोजन गर्नुभएकोमा प्रभु बैंक तथा युएई राज्य प्रमुख डा. प्रकाश पौडेलप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ।

       

      पुस्तक उपहारले थपियो साहित्यिक आत्मीयता

      कार्यक्रममा सहभागी अतिथि तथा सर्जकहरूलाई साहित्यिक कृतिहरू उपहारस्वरूप प्रदान गरिएको थियो। विशेषगरी ‘यूएईले बाँडेको मुस्कान’ लगायत विभिन्न विधाका पुस्तकहरू प्रदान गर्दै साहित्य पढ्ने, लेख्ने र सिर्जनालाई निरन्तरता दिने वातावरण निर्माण गर्ने प्रयास गरिएको थियो।

      साहित्यिक कृतिलाई उपहारका रूपमा आदानप्रदान गर्ने यस पहलले कार्यक्रमलाई केवल वाचनमा सीमित नराखी पठन संस्कृतिसँग समेत जोडेको सहभागीहरूको प्रतिक्रिया थियो।

       

      एउटै मञ्चमा करिब ३० सर्जक

      कार्यक्रमको मूल आकर्षण भनेको प्रत्यक्ष सिर्जना वाचन रह्यो। करिब ३० जना सर्जकहरूले आफ्ना मौलिक रचना दर्शकमाझ प्रस्तुत गरे। कविता, गजल, मुक्तक तथा अन्य साहित्यिक विधाका रचनाहरू वाचन हुँदा कार्यक्रम भाव, विचार र अनुभूतिको साझा मञ्चमा परिणत भएको थियो। प्रत्येक सर्जकका रचनाले प्रवासमा नेपाली समाजले भोगिरहेका अनुभूति, सम्बन्ध, प्रेम, संघर्ष र सामाजिक परिवेशलाई शब्दमार्फत प्रस्तुत गरेका थिए।

       

      सन् २०१४ देखि निरन्तर साहित्यिक यात्रा

      सन् २०१४ देखि प्रवासमा नेपाली भाषा, साहित्य र सिर्जनाको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय सिर्जना वाचन डबलीले नियमित रूपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसै यात्राको निरन्तरताका रूपमा २९औँ शृङ्खला आयोजना गरिएको हो।

      युएईमा रहेका नेपाली सर्जकहरूलाई एउटै मञ्चमा ल्याउने, नयाँ प्रतिभालाई अवसर दिने र प्रवासमा नेपाली साहित्यको उपस्थितिलाई अझ सशक्त बनाउने उद्देश्यमा डबली निरन्तर अघि बढिरहेको आयोजकको भनाइ छ।

       

      २९औँ शृङ्खलाको सफलताले प्रवासमा साहित्यिक गतिविधिको आवश्यकता र यसको प्रभावलाई पुनः प्रमाणित गरेको आयोजकको विश्वास छ।

      कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएका अतिथि, सर्जक, साहित्यप्रेमी, दर्शक, सहयोगी तथा प्रायोजकहरूप्रति सिर्जना वाचन डबली, युएई परिवारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।प्रवासमा शब्दहरू हराउन नदिने अभियान—सिर्जना वाचन डबलीको साहित्यिक यात्रा अब ३०औँ शृङ्खलातर्फ उन्मुख भएको छ।

        कमेन्टहरु