पत्रकार किशोर श्रेष्ठसम्बन्धी मुद्दामा केहीबेरमा आदेश दिने तयारी


काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण सुवेदीको इजलासमा सोमबार बेलुका सकिएको छ। सुनुवाइपछि आफ्ना कुरा राख्ने क्रममा पत्रकार श्रेष्ठले आफूलाई लागूऔषधका ५५ जना अभियुक्तहरूसँग राखिएको जिकिर गर्दै आफू पाँच दिनदेखि राति निदाउन नसकेको बताएका छन्।
उनले अवरुद्ध गलामा ‘बेञ्च’ समक्ष भने- ‘एउटा कलमजीवीलाई ५५ जना लागूऔषधका अभियुक्तहरूसँगै राखिएको छ। पाँच दिनदेखि राति निदाउन सकेको छैन श्रीमान्।’ उनले आफूलाई परिवारका सदस्य र कानुनव्यवसायीलाई समेत छुट्टै भेट्न नदिइएको उल्लेख पनि बेञ्चसमक्ष गरेका छन्।
‘हिरासतमा लागूऔषध प्रयोगकर्ताहरुसँगै राखेर मलाई मानसिक यातना दिइएको छ,’ उनले भने। पत्रकार श्रेष्ठले सरकारले पूर्वाग्रह साध्न झूटो मुद्दा लगाएको जिकिर पनि गरे। इजलासमा चार जना सरकारी वकिल र रिट निवेदकका तर्फबाट १७ जना कानुनव्यवसायीको बहस सकिएको छ। पत्रकार श्रेष्ठसम्बन्धी मुद्दामा सोमबार केहीबेरमा आदेश दिने तयारी छ।





