बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी


बैतडी, साउन ३०। घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भिरमा पनि घारहरू राखिएका छन् ।
बैतडीको सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्टका ५० घार मौरी छन् । पच्चीस वर्षदेखि मौरीपालन व्यवसायमा आबद्ध विष्टले वर्षमा दुई क्विन्टल मह उत्पादन गर्दै आउनुभएको छ । स्थानीय बजार र जिल्लाबाहिर पनि मह बिक्री हुने गरेको छ । बजारमा महको माग बढ्दै गएकाले थप व्यवसाय विस्तार गर्न सके बजारको समस्या नरहेको विष्ट बताउनुहुन्छ । “लामो समयदेखि मौरीपालन गरेको हुँ । व्यवसाय बढाउँदै यहाँसम्म ल्याइपुर्याएको छु । घार राख्ने ठाउँ नभएर सडक किनार र भिरपाखामा पनि राखेको छु”, विष्टले भन्नुभयो ।
आम्दानीको राम्रो सम्भावना भए पनि परम्परागत तरिकाले मौरीपालन गरिरहेकाले मौरी जोगाउन निकै कठिन हुने गरेको छ । “आधुनिक घारहरू छैनन्”, उहाँले भन्नुभयो, “काठको परम्परागत घारहरूमा जङ्गली जनावर मलसाप्रो र वर्षात्को समयमा चिसोबाट पनि बचाउन सकस हुने गरेको छ ।”
पछिल्लो समयमा तरकारी खेतीमा प्रयोग हुने विषादीले चुनौती थपिएको विष्टले बताउनुभयो । “मौरीहरू फुल फुलेको ठाउँमा पुग्छन् । तरकारीखेतीमा विषादीको प्रयोगले मौरी पनि मर्ने गरेका छन् ।”, उहाँले भन्नुभयो । उहाँ मौरीपालनसँगै बाख्रापालनमा पनि व्यस्त हुनुहुन्छ ।





