घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ९ वटा ग्यास सिलिन्डर पड्कियो


रौतहट,२५ । रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवा गाउँनजिकै रहेको एक घरमा सोमबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा ९ वटा ग्यास सिलिन्डर पड्किएका छन्।
स्थानीयका अनुसार दुधिअवा गाउँनजिकै दीपेन्द्र भक्त खरेलको घरमा इँटा उद्योगमा काम गर्ने मजदुरहरूको सुविधाका लागि राखिएको ग्यास तथा अन्य सामग्री रहेको स्थानमा बिहान करिब ७ः१५ बजे विद्युत् सर्ट भएर आगलागी भएको हो।
आगलागीपछि ग्यास सिलिन्डर पड्किँदा आगो थप फैलिएको थियो। घटनामा घरमा रहेका घरायसी तथा अन्य सरसामान जलेर नष्ट भएको र करिब १८ लाख ५८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागी नियन्त्रणका लागि स्थानीयवासीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल परिचालन गरिएको थियो। उनीहरूको सक्रियतामा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक राजेश खत्रीले जानकारी दिनुभयो।
घटनामा मानवीय क्षति भए/नभएकोबारे थप विवरण आउन बाँकी रहेको छ। प्रहरीले आगलागीबाट भएको क्षतिको थप विवरण संकलन गरिरहेको जनाएको छ।





