क्षमताभन्दा बढी कैदी रहेको श्रीलङ्काली जेलमा दङ्गा, सेना परिचालन


काेलम्बाे । क्षमताभन्दा बढी कैदीबन्दी रहेको एक जेलमा भएको दङ्गा नियन्त्रण गर्न श्रीलङ्काले आइतबार सयौँ सैनिक र विशेष कमान्डो परिचालन गरेको छ । घटनामा एक कैदीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
प्रहरी नायब महानिरीक्षक सञ्जिव मेदावाट्टेका अनुसार राजधानी कोलम्बोनजिकै रहेको महारा जेलमा शनिबार कैदीहरूले विभिन्न भवनमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रणमा लिइएको हो । “शान्ति–व्यवस्था पुनःस्थापना गर्न र कैदीहरूलाई कोठामा फर्काउन सशस्त्र बल तथा विशेष कार्यदल (एसटीएफ) का कमान्डोको सहयोग लिइएको छ”, मेदावाट्टेले जेलबाहिर पत्रकारहरूसँग भने ।
सन् २०२० को नोभेम्बरमा पनि यही जेलमा भएको दङ्गामा गोली चल्दा ११ कैदीको मृत्यु भएको थियो भने करिब १२० जना घाइते भएका थिए । पछिल्लो घटना सोही क्षेत्रको अर्को जेलमा भएको दङ्गाको करिब एक महिनापछि भएको हो । उक्त घटनामा १० सुरक्षाकर्मी र २१ कैदीको मृत्यु भएको थियो ।
गत महिना श्रीलङ्काली अधिकारीले प्रयोगविहीन सरकारी भवनलाई जेलमा परिणत गर्ने योजना सार्वजनिक गरेका थिए । देशका जेलमा रहेका कैदीमध्ये तीन चौथाइभन्दा बढी मुद्दाको फैसला पर्खिरहेका पुर्पक्षका बन्दी रहेको र उनीहरूमध्ये अधिकांश लागुऔषधसम्बन्धी कसुरमा थुनामा रहेको बताइएको छ ।





