गण्डकी प्रदेश, विचार/ब्लग, सूचना / प्रबिधि

    ढोरपाटन मिडिया समिटको गर्विलो अनुभूतिहरु

    याम बहादुर थापा मगर
    २०८३ साउन ४ | मध्यान्ह ०१:०४ बजे

      याम बहादुर थापा मगर
      बागलुङ नगरपालिका १०,भकुण्डे,धौलेचउर

      इमेल: kathayatranepal@gmail.com

      आलेखको आरम्भ
      डुल्न र घुम्न खुब मन लाग्ने तर निहँु र आर्थिक जोहो व्यवस्थापन हुन नसक्ने गरेको छ । चर्चित र एकपटक पाइला नटेकेका स्थानहरुमा भरसक जान पाए हुन्थ्यो भन्ने सोच छ । तर बिदा मिलाएर समेत फुसर्द निकाल्न पर्ने रहेछ । योजना र कार्यक्रमहरुसँग रुचि मिल्न पर्ने हुन्छ । त्यसै क्रममा जिवन्त मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक मेरा साथी नवराज नेपालीले याम सर ल ढोरपाटन समिटमा जाने होइन तपाई । यातायात र खान बस्न निशुल्क हुन्छ भनेर प्रत्यक्ष भेटघाटमा सहर्ष जानकारी गराउनुभयो । मैले तत्कालै निर्णय दिन सकेन । कार्यालयमा कामको व्यस्तता र कार्य बोझ दैनिकी तथा आकस्मिक योजनाहरु बारेमा अध्ययन र समिक्षा गर्ने मौका पाएको थिएन । मौखिक जानकारी पाएको केही दिन पछि सामाजिक सञ्जालमा आर्कषक ब्यानर र शैलीमा ढोरपाटन मिडिया समिटको प्रचार प्रसार देखेपछि ढोरपाटन फेरी एक पटक जाने योजनामा कठोरतापुर्वक निर्णय गर्न पुगे । म सकभर बिदा मिलाएर समेत सहभागी हुने गरी प्रबन्ध निर्देशक नवराज नेपालीलाई एसएमएस पठाउदै दुई जना मेरो लागि सिट सुरक्षित राखिदिन प्रस्ताव गरे । स्वीकृत भएको नभएको जानकारी केही पनि आएन । ढोरपाटन समिटमा जाने मिति नजिक आउदै थियो । मैले फेरी दुई जनाको सिट राखी दिन अनुरोध गर्दा सम्पर्क व्यक्ति खेमराज गौतम सुवासलाई फोन गर्न भन्नुभयो । मैले दुई जनाको लागि भनेको प्रस्तावमा एक जना मेरो मात्र सिट पारित भएको जानकारी अन्त समयमा पाए । अनि म मात्र सहभागी हुन पत्रकार,नेता तथा अन्य साथीहरुसँग जाने पक्का भयो । म यस भन्दा अगाडी ढोरपाटन गै सकेको भएपनि साथमा एक जना परिवारका सदस्यलाई सहभागी गराउने योजना बुनेको थिए । बुकी पाटनमा जाने र नाउर शिकार गर्ने क्षेत्रमा पुग्न सकेको थिएन । पत्रकार,कलाकारहरुको हुलमा म पनि ढोरपाटन समिटमा सक्रिय सहभागी हुन पाएको प्रफुल्ल र उमग साटदै ढोरपाटनमा गए । मलाई पछिल्लो समयमा समिट, साहित्य सम्मेलन,गोष्ठीहरुमा सहभागी हुन बहुत रुचिको विषय बनेको छ ।

      डोरपाटन मिडिया समिट २०८३ को कार्यक्रम
      ढोरपाटन नगरपालिका बागलुङको आयोजना र जिवन्त मिडिया प्रा.लि. बागलुङको समन्वयमा मलाई लाग्दछ कि गण्डकी प्रदेशमा नै पहिलो कार्यक्रम सम्पन्न भएको हो । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगर, टे«किङ ऐजिन्सिज एसोसियसन अफ नेपाल ( टान ) गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य लगायतको विचारहरु दिगो पर्यटन र ढोरपाटनको पुर्वाधार विकासका बारेमा व्यक्त भएका थिए । वर्षायामलाई पर्यटनमा बेमासम मानेपनि ढोरपाटन चल्तीको गन्तव्यमा गणना भएको छ । बाह्रै महिना पर्यटकका लागि स्वागत र सत्कार गर्न तम्तयार रहेको ढोरपाटनले पछिल्लो समयमा पर्यटकको आवागमनमा उल्लेखनीय अभिवृद्धि गरेको छ । पर्यटकीय चहलपहलका लागि अफसिजन लाग्दा ढोरपाटनमा सिजन सुरुवात हुन्छ भन्ने जानकारी देश विदेशका नागरिकहरुलाई प्रचार प्रसार अथक रुपमा गर्ने योजनालाई निरन्तरता दिनु जरुरी छ ।

      ढोरपाटनमा दिगो पर्यटनका बारेमा बहस थालनी भएको छ । शिकार पर्यटनका माध्यमबाट चिनिने ढोरपाटन अन्य आयामका हिसाबले चिनि थालेको छ । नीति निर्मातादेखि जनसाधारणसम्मले ढोरपाटनको दिगो पर्यटन विकासको खाँचो महसुस दिर्घकाल सम्म हुनुपर्ने भएको छ । अथाह सम्भावना बोकेको ढोरपाटनलाई राज्यका निकायहरुबाट उपेक्षामा परेको महसुस स्थानीय बासिन्दाबाट गरे । ढोरपाटनमा म्याग्दीको मुना,गुर्जा,जलजला,ढोरपाटन हुँदै डोल्पा जोड्ने गरी पदमार्ग बनाउनुपर्ने आवाज उठेको छ । पर्यटनका लागि पुर्वाधार,सेवा सुविधाको पहँुच, सुरक्षा र आतिथ्य संस्कारको गुणस्तरीय बन्दोबस्त हुनुपर्ने सवाल महत्वर्पुण बनेको छ । स्थानीय बासिन्दाका लागि आर्थिक उपार्जन र रोजगारी सिर्जना भै प्रत्यक्ष लाभान्वित नभएसम्म दिगो पर्यटन नहुने, प्रचुर र अथाह सम्भावना बोकेको बारेमा प्रचार प्रसार नहुने तथा पशुपंक्षीका अधिकारका दृष्टिले उपयुक्त नभएको धारणा बलियोसँग आएको थियो । ढोरपाटनमा घुम्न आउने पर्यटकहरुको बसाइ लम्बाउने तिर दिर्घकालीन योजना बनाउनुपर्ने भएको छ ।

      ढोरपाटनको मौलिकता जोगाउन चुनौती थपिएको र नेपालमा यस्तो भुबनोट अन्त कतै नभएको जानकारी आएको छ । ढोरपाटनको विकास र संरक्षण गतिविधिलाई सन्तुलित ढंगले अगाडि बढाउदै योग,ध्यान लगायतका आध्यात्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सकिने सौन्दर्यको स्थानमा परिचर्चा गर्न सकिन्छ । साथै उत्तरगंगा जलाशयुक्त जलविद्युत निर्माणले ढोरपाटनको सुन्दरतामा आँच आउने तर्क प्रस्तुत भएको छ । फुलहरुको उपत्यकाको रुपमा विकास गरी पुर्वाधार निर्माण र प्रचार प्रसार गर्न सकेमा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सकिन्छ । पछिल्लो समयमा ढोरपाटन उत्पत्यकामा ३९ होटल र घरबास भएकोले एक रातमा १५ सय पाहुनाहरु राख्न सक्ने क्षमता विकास भएको छ । ढोरपाटनमा निजी क्षेत्रको समेत लगानी भित्राउनुपर्ने र जनैपुर्णिमा पर्वमा पहिलो पटक ढोरपाटन आलु महोत्सवको आयोजना हुन लागेको सन्दर्भ जानकारीमा आएको थियो ।

      ढोरपाटन मिडिया समिट २०८३ को आयोजना ढोरपाटन नगरपालिकाको आयोजना र समन्वयकारी संस्था जीवन्त मिडियाका प्रबन्ध निर्देशक नवराज परियारले ‘ ढोरपाटनको भविष्य ः सिकार पर्यटन कि दिगो पर्यटन?’ ‘ प्रकृतिबाट समृद्धि,‘ ‘ मिडिया ÷सोसल मिडियामा ढोरपाटन ब्राण्डिङ्ग‘ शिर्षकमा प्यानल छलफल भएको जानकारी दिनुभयो ।

      ढोरपाटन समिटका अटुलनिय अनुभुतिहरु
      होमस्टे पर्यटनमा ढोरपाटनमा गोठ स्टे गर्ने प्रचलन विकास भएपनि सो अनुभुति गर्न पाइएन । ढोरपाटन,बुकीपाटन,ढोरबराह, ढोर उपत्यकाको साथ साथै मौलिक कला,संस्कृति,तथा लोक संगित संरक्षणमा ध्यान जानुपर्ने आवाज बुलन्द भएको छ । पर्यटन पत्रकार अमृत भादगाउँले, एकल यात्री ( सोलो ट्राभल) सिर्जना सिञ्जु,कथालिका अनलाइनका सम्पादक दिल शिरिष, पत्रकार मोहराज शर्मा, पत्रकार रामनारायण सुवेदी, सिकार व्यवसायी दिपक थापा, ढोरपाटन सिकार आरक्षका सुचना अधिकारी सागर सुवेदी,टे«किङ ऐजिन्सिज एसोसियसन अफ नेपाल ( टान ) गण्डकी अध्यक्ष कृष्ण प्रसाद आचार्य ले प्यानल छलफलमा गरेका बहस बहुत चर्चा गर्न लायक थियो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित बहादुर शेरचन, ढोरपाटन नगरपालिकाका कार्यबाहक नगर प्रमुख धन बहादुर कायत र तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले ढोरपाटनको पर्यटन सम्बन्धी धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता जिवन्त मिडियाका प्रबन्ध निर्देशक नवराज परियार,संचालन पत्रकार सृजना पन्त र शुभकामना मन्तव्य नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले गर्नुभएको थियो ।

      ढोरपाटनमा अनौपचारिक सिकाइ र अनुभवहरु
      ढोरपाटनको दिगो पर्यटन अवधारणामा टिडिएच जर्मनीको आर्थिक सहयोग र विवाईसी बागलुङको साझेदारीमा ढोरपाटन क्षेत्रमा साढे तीन वर्ष देखि सञ्चालनमा भएको जानकारी प्राप्त भएको र पर्यटन सुचना केन्द्र समेत अवलोकन गर्ने अवसर प्राप्त भयो । ढोरपाटन फोटो किताब अध्ययन गरेपछि एक प्रति संकलन गर्न मन लाग्यो र मैले काठेखोला गाउँपालिकाका पुर्व अध्यक्ष तथा दिगो परियोजनाका टिम लिडर अम्मर बहादुर थापालाई एक उपलब्ध गराउन अनुरोध गरेको थिए । तर उहाँले सिमित प्रति प्रकाशन गरेको र फोटो किताबहरु सबै बाँडेर सकियो भन्दै उपलब्ध गराउन नसक्ने जानकारी दिनु भयो । मैले सो ढोरपाटन फोटो किताब एक प्रति संकलन कसरी गर्ने होला भनेर मनमा चासो लिइरहेको थिए । बागलुङ बजार आएपछि विवाइसी बागलुङका अध्यक्ष तोयानाथ गौतमलाई फोन गरे पनि कार्यालयमा स्टक छैन सर फिल्ड अफिसका बुझनुपर्छ भन्ने जानकारी आयो । त्यसपछि मेरा परिचित साथी ओम बहादुर वि.क. दिगो पर्यटन परियोजनाका कर्मचारी साथीलाई म्यासेन्जरमा खबर पठाएको त ओम बहादुर वि.क.सरले याम सरको लागि म एक प्रति उपलब्ध गराउने छु भन्दै जानकारी पाए । केही दिनपछि बुर्तिवाङ देखि बागलुङ बजारमा आउने जिपमा ढोरपाटन फोटो किताब पठाउनु भयो र ढोरपाटन फोटो किताव हात पार्दा खुशीले गदगद भए । आगामी दिनमा थप सहयोग र साथको अपेक्षा ओम बहादुर वि.क.लाई हार्दिक धन्यवाद किताब सौजन्य स्वरुप उपलब्ध गराएकोमा दिए ।

      त्यसै गरी ढोरपाटन मिडिया समिटमा आउनु भएका बक्ताहरुसँग फोटो खिच्ने र सामाजिक सञ्जालमा राख्ने काम भयो । साँझको समयमा भएको सामुहिक बसाई, लोक तथा दोहोरी गायिका मधु थापा मगरको बेजोड प्रस्तुतीले रमाइलो साँस्कृतिक साँझमा परिणत भएको थियो । मधु थापा मगरको प्रस्तुती र गितहरुको ताजा अविष्मरणीय प्रभाव जनजनमा पारेको थियो ।

      त्यसैगरी नवी,उत्तरगंगा,देउराली,निसेल ढोर, एयरपोर्ट घुम्ने काम भयो । साथै पत्रकार साथी डम्मर बुढा मगरको फुपु र कर्ण बहादुर भण्डारी पुसाजुसँगको भेटघाट र चिनजान साथै गोठमा भएको लैनो भैसीको दुध खाएर हाम्रो टोली खुब रमाउने र जिन्दगीमा गोठाले जिवनको अनुभव तथा पारिवारीक गफगाफले नौलो अनुभुति संगालेका थियौ । गोठमा नै बाँस बस्न खुब अनुरोध गर्नु भयो फुपुले तर हाम्रो टोली मानेन । हामी सबैको फुपु वा हाम्री फुपु भन्दै भलाकुसारी गर्दै पुजाआजामा बोलाउने चलन हुन्छ भन्दै सम्मान र सत्कारले आत्मीय बढेको थियो । हाम्रो टोलीमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष माया अधिकारी, नेपाल पत्रकार महासंघ शाखा बागलुङका उपाध्यक्ष सृजना पन्त, आर्दश सन्चार अनलाइनका कार्यकारी सम्पादक विनोद थापा, बरेङ गाउँपालिका सुखौराका डिल प्रसाद शर्मा, नेपाल आदिवासी पत्रकार महासंघ शाखा बागलुङका अध्यक्ष डम्मर बुढा मगर, नागरीक दैनिकका समाचारदाता संगम घर्ती मगर लगायतको समुह बनेको थियो । काठैकाठले छाना निर्माण गरेको घर,गोठ देख्दा अनौठो लागेको थियो ।

      ढोरपाटन मिडिया समिट २०८३ कार्यक्रममा ढोरपाटनका स्थानीय बासिन्दाहरुको उपस्थिति अलिकति कम हो कि भन्ने आभास मिलेको र स्थानीय महिला नेतृहरुबाट औपचारिक रुपमा आवाज उठेको थियो । समाजमा रहेका विभिन्न वर्गहरु विचको असमानता,भिन्नता तथा विभेदका कारणले लक्षित समुदाय तथा आधारभुत वर्गका मानिसहरुसँग खबर नपुगेको हुन सक्छ । आगामी दिनहरुका कार्यक्रममा सहभागीता गराउने क्रममा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसै गरी मैले हेर्ने कथा युटुव च्यानल विद्या चापागाई र कमल चौलागाईको समय समयमा हेर्ने गरेकोमा एक श्रृङखला ढोरपाटनमा चौकिनी प्रथा तथा परम्पराका बारेमा जानकारी लिएको थिए । मलाई पनि चौकिनी महिलालाई हेर्न र भेटन मन थियो । बरेङ गाउँपालिका सुखौरा निवासी साथी डिल प्रसाद शर्मासँग बिहानको हिडाइसँगै हामीलाई यात्राको क्रममा चौकिनी महिलाको बारेमा बुझने र चिन्ने सोच आयो । सोध्दै जादा नजिकैको घरमा पुगेका रहेछौ । सानो भिडियो लिने अनुमतिसँगै चौकिनी आमासँग छोटो बार्तालाप गर्ने अवसर मिल्यो । आफु रातभर बन्चरो लिएर गाऊँभरिको घरघरमा तिन चार पटक डुल्ने काम गर्ने र सो वापत ज्याला प्रत्येक घरबाट पाँच पाठी आलु र एक पाठी अन्न दिने बताउनुभयो । साथै आफुले चौकिनी पेशा पचास वर्षसम्म गरेको जानकारी दिनुभयो । चौकिनी आमासँग गरेको छोटो वार्तालाप कथा यात्रा नेपाल युटुव च्यानलमा समेत अपलोड गरेको छु । हजुुरहरुले पनि ढोरपाटनमा भएको चौकिनी प्रथाको सामान्य जानकारी लिन सक्नुहुन्छ ।

      त्यसैगरी ढोरपाटनमा आउने पर्यटकहरुले खाली उत्तरगंगा,एयरपोर्ट, वराहपुजा,घोडचढी मात्र हेरेर एक दिन आउने र पाटनको दृश्य अवलोकन गरेर जाने तर बुकीपाटनमा कम मात्रै पर्यटकहरु जाने गरेको पाइन्छ रे । बुकि पाटनको दृश्यवलोकन गर्नका लागि ४,५ घण्टामा पैदल हिडेर माथि लेकमा जानुपर्ने हुन्छ । ढोरपाटनका विभिन्न बस्तीहरुमा जाति पिच्छे फरक फरक कला,सस्कृति,परम्पराहरु विद्यमान छन् । तिनीहरुलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने, यात्रा सस्मरण लेख्ने,जडिबुटीका बारेमा अनुसन्धानमुलक लेख रचनाहरु खोजमुलक पद्धतिका लेख रचनाहरु प्रकाशित गर्नमा समेत ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको छ । त्यहाँका बासिन्दाहरुका संस्कृतिहरुका बारेमा जान्न र बुझन सकेमा थप पर्यटकहरु आर्कषित हुने निश्चित रहेको छ ।

      अन्तमा
      नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षका बारेमा मिडियामा प्रचार प्रसार गर्नका लागि आयोजना भएको ढोरपाटन मिडिया समिट २०८३ ले पक्कै थप पर्यटकलाई भित्रिनका लागि विश्वव्यापी माध्यमहरु मार्फत हल्ला खल्ला भएको छ । नेपालका ७५३ वटै पालिकाहरु,केन्द्र देखि प्रदेश सरकारहरुका निकायहरुबाट अनिवार्य रुपमा हरेक वर्ष कला,साहित्य,अर्थतन्त्र,पुर्वाधार,शिक्षा,स्वास्थ्य,मिडिया, प्रशासनिक,आदिवासी, जनजाति,दलित,महिला, बौद्धिक कृत्रिमता,सुचना तथा प्रविधि, कृषि,पर्यटन,राजनीतिशास्त्र,साइबर क्राइम, व्यवसायिक,होटेल,धार्मिक,न्यायीक, संसदीय,बालबालिकाका,अपांगता बारेमा हुनुपर्दछ भन्ने मान्यता विकास र शैली विकास गर्नुपर्ने मलाई लागेको छ । ताकी यो सवालको आवाज सबै स्थानीय,प्रदेश,संघीय सरकारले कार्यान्वयन गरुन भन्ने जोडदार माग गर्दछु । असल अभ्यासको थालनी थोरै बजेट र लगानीबाट पनि पाउन सकिन्छ भन्ने हो । सचेतना र पारर्दशीताको कामको मापन अमुल्य हुन्छ । हरेक क्षेत्रका नागरीकहरुलाई शिक्षित गराउने तरिकाहरु मध्ये सचेत र प्रवुद्ध वर्गको छलफल र निष्र्कष दिने काम मिडिया समिटले गर्दछ । ढोरपाटनको भम्रण गर्ने सुगम यात्रा तय गर्ने प्रेरणा मिलोस भन्ने कामना सबैले हातेमालो हार्दिकताका साथ गरौ । ढोरपाटन नगए महानुभावहरु एक पटक भ्रमण गरेर खुशी,उमग र प्रेरणादायी दिनहरुमा इतिहास बनाऔ । ढोरपाटनलाई साधुबाद ।

        कमेन्टहरु