पृथ्वी राजमार्गमा पहिरो, सवारी आवागमन दुईतर्फी अवरुद्ध

नवलपुर टुडे
२०८३ असार ३२ | मध्यान्ह ०७:०३ बजे

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोलानजिक पहिरो गएको छ । जवाङखोलानजिक तिग्राङखानीबाट सुक्खा पहिरो खसेको हो । बिहीबार साँझ पहिरो जाँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पहिरो गएका कारण राजधानी काठमाडौं आउने र जाने सवारीसाधन रोकिएका छन् । पहिरो खस्ने क्रम नरोकिएका कारण जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनलाई पूर्ण रूपमा रोक लगाएको छ ।
“पहिरो खस्ने क्रम नरोकिएकाले पृथ्वी राजमार्ग भएर चल्ने सबै प्रकृतिका सवारीसाधनको आवागमन अर्को सूचना प्रकाशित नभएसम्मको लागि पूर्ण रूपमा रोक लगाइएको छ,” जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै भनेको छ ।





