समाचार, समाज

    मिटरब्याजपीडित पैदल मार्चपास गर्दै बाराको निजगढ पुगे, भएन सरकारसँग सहमति

    नवलपुर टुडे
    २०८३ असार ३२ | बिहान १०:०३ बजे

      जनकपुरधाम । मिटरब्याजपीडितले धनुषाको तिरहुतिया गाछीबाट पैदल मार्चपास यात्रा सुरु गरेको आठ दिन भइसकेको छ । यात्राको पाँचौँ दिन बाराको निजगढ पुगेका उनीहरू अझै त्यहीँ रोकिएका छन् । निजगढ उद्योग वाणिज्य संघमा बास बसेका मिटरब्याजपीडित सरकारसँग सम्झौता हुने आसमा छन् । तर, हालसम्म सम्झौता हुन सकेको छैन ।

      दुई दिन गृहमन्त्री सुधन गुरुङसँग छलफल भए पनि सहमति हुन नसकेको मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय महासचिव मनोज पासवानले जानकारी दिए । उनका अनुसार, बुधबार (असार २१) पनि बेलुका पौने ८ देखि राति ११ बजेसम्म गृहमन्त्रीसँग छलफल भएको थियो । सरकारी पक्ष आफूहरूका मागमा धेरै बुँदा सकारात्मक रहेको उनले सुनाए ।

      बिहीबार (असार ३२) पनि वार्ता हुने भनिएको छ । तर, समय निर्धारण नभएको र सरकारी पक्षबाट यसबारे जानकारी नपाएको महासचिव पासवानले बताए । मिटरब्याजपीडितले ६ बुँदे माग अघि सारेका छन् । मिटरब्याज अपराध उन्मूलन घोषणा गरिनुपर्ने, मिटरब्याज विशेष ऐन निर्माण, मिटरब्याज न्यायाधिकरण गठन हुनुपर्ने उनीहरूका मुख्य माग छ ।

      यस्तै, मिटरब्याज केन्द्रीय कार्यदल गठन, जिल्लामा पनि कार्यदल र प्रत्येक जिल्लामा सहजीकरण समिति गठन हुनुपर्ने माग उनीहरूले गरेका छन् ।

      बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मिटरब्याजपीडितसँग सरकारले गरिरहेको छलफल नटुंगिएको बताए । गृहमन्त्री गुरुङ बारामै रहेका र आज पनि वार्ता हुने उनले जानकारी दिए ।

        कमेन्टहरु