अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धसम्बन्धी आफ्नो पछिल्लो ठुलो घोषणा केवल २४ घण्टामै फिर्ता लिए । विश्लेषकहरूका अनुसार यसले इरानसँगको जटिल द्वन्द्व अन्त्य गर्न उनी असामान्य उपायहरूको खोजीमा रहेको सङ्केत दिएको छ ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत ट्रम्पले अमेरिकी नौ सैनिक नाकाबन्दी पुनः सुरु गर्ने घोषणा गर्दै हर्मुज जलडमरू हुँदै गुड्ने सबै जहाज (अमेरिकाका सहयोगी राष्ट्रका जहाजसमेत) ले २० प्रतिशत शुल्क तिर्नुपर्ने बताएका थिए । उनका अनुसार उक्त रकम विश्वकै अत्यन्त अस्थिर समुद्री मार्गमा सुरक्षा प्रदान गर्न अमेरिकाले गरेको खर्चको क्षतिपूर्ति स्वरुप हुने थियो ।
चार महिनाभन्दा लामो युद्ध अझै अन्त्यको सङ्केत छैन
ट्रम्पको यो अचानक निर्णय परिवर्तन चार महिनाभन्दा बढी समयदेखि जारी इरान–अमेरिका द्वन्द्वको पछिल्लो मोड हो । करिब एक महिनाअघि दुवै पक्षबिच भएको सम्झदारीपत्रले अस्थायी युद्धविराम र वार्ताको आधार तयार गरेको थियो । तर अहिले त्यो सहमति व्यवहारतः समाप्त भएको देखिएको छ ।
विश्लेषकहरूका अनुसार ट्रम्प युद्धलाई थप चर्काउन इच्छुक छैनन् । युद्धप्रति अमेरिकी जनमत सकारात्मक छैन, ऊर्जा मूल्य बढ्ने जोखिम छ र इरानबाट अमेरिकी सेना तथा सहयोगी राष्ट्रमाथि पुनः आक्रमण हुन सक्ने सम्भावना पनि उच्च छ ।
यद्यपि, कुनै ठोस सम्झौताबिना युद्ध अन्त्य गर्नु पनि ट्रम्पका लागि सहज विकल्प होइन । विशेष गरी, उनले आफूले सन् २०१५ मा तत्कालीन राष्ट्रपति बराक ओबामाले गरेको आणविक सम्झौताभन्दा राम्रो सम्झौता गरेको दाबी गर्न नसक्ने अवस्था आउन सक्छ ।
‘यो युद्ध अन्त्य नहुने युद्ध बन्न सक्छ’
रक्षा नीतिसम्बन्धी थिंक ट्यांक डिफेन्स प्रायोरिटिज अन्तर्गत मध्यपूर्व कार्यक्रमकी निर्देशक रोजमेरी केलानिड भन्छिन्, ‘सबैभन्दा सम्भावित अन्त्य भनेको कुनै अन्त्य नै नहुनु हो । यो अहिले क्षययुद्ध (वार अफ एट्रिसन) मा परिणत भइसकेको छ, र यस्ता युद्धहरू धेरै लामो समयसम्म चल्ने गर्छन् ।’
युद्धविराम व्यवहारतः समाप्त
मंगलबार अमेरिकी समयअनुसार बिहान १०ः१६ बजे ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानी जहाजमाथिको अमेरिकी नाकाबन्दी पुनः सुरु भएको घोषणा गरे । त्यससँगै अमेरिकाले इरानका विभिन्न लक्ष्यहरूमा नयाँ हवाई आक्रमण पनि ग¥यो ।
जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्र र व्यापारिक जहाजमाथि आक्रमण तीव्र बनाएको दाबी गरिएको छ । त्यसको असरस्वरूप हर्मुज जलडमरू हुँदै हुने समुद्री यातायात पुनः लगभग ठप्प भएको छ ।
सैन्य सफलता, तर राजनीतिक समाधान टाढा
एक महिनासम्म पटक–पटक सुरु हुँदै र रोकिँदै आएको वार्ता तथा छिटपुट झडपपछि पनि अमेरिका र इरान उही समस्यामा पुगेका छन् । सैन्य दृष्टिले अमेरिकाले इरानका जहाज, विमान र सैन्य पूर्वाधारमा ठुलो क्षति पुर्याउन सफल भएको देखिए पनि राजनीतिक रूपमा युद्धको कुनै समाधान निस्किएको छैन ।
इरान सैन्य रूपमा कमजोर भए पनि उसले अझै पनि हर्मुज जलडमरूको प्रयोगमा अवरोध सिर्जना गर्न सक्छ । अमेरिकाले आफ्नो सैन्य अभियानलाई अझ व्यापक नबनाएसम्म इरानलाई त्यसो गर्नबाट रोक्न कठिन हुने विश्लेषण गरिएको छ ।
२० प्रतिशत शुल्कको प्रस्ताव किन फिर्ता भयो ?
ट्रम्पले अघि सारेको २० प्रतिशत शुल्कको प्रस्ताव पूर्णतः नयाँ भने थिएन । युद्धका क्रममा उनले यसअघि पनि यस्तै अवधारणा प्रस्तुत गरेका थिए । तर विडम्बना के छ भने केही साताअघि मात्रै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलडमरूमध्य प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने योजनाको कडा आलोचना गरेका थिए ।
उनले भनेका थिए, ‘अन्तर्राष्ट्रिय समुद्री मार्गमा कुनै पनि देशले टोल वा शुल्क लिन पाउँदैन । यही अन्तर्राष्ट्रिय कानुन हो र विश्वभरका सबै अन्तर्राष्ट्रिय जलमार्गमा यही व्यवस्था लागू हुन्छ ।’ यसै कारण ट्रम्पको पछिल्लो निर्णय परिवर्तनलाई कतिपयले नीति–विरोधाभासका रूपमा पनि हेरेका छन् ।
सम्झदारीपत्र अब ‘मृत’ भएको दाबी
ट्रम्पको पछिल्लो यू–टर्नले अमेरिकी प्रशासनसँग स्पष्ट रणनीति नरहेको सङ्केत दिएको विश्लेषण भइरहेको छ । सम्झदारीपत्रमा इरानले कुनै शुल्क नलिई व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने उल्लेख थियो । त्यसको बदलामा इरानमा अर्बौं डलरको लगानी तथा अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने प्रतिबद्धता पनि समावेश गरिएको थियो । तर अहिले ती सबै व्यवस्था प्रभावहीन बनेका छन् ।
रोजमेरी केलानिड भन्छिन्, ‘सम्झदारीपत्र पूर्ण रूपमा समाप्त भइसकेको छ । त्यसमा उल्लेख गरिएका सबै व्यवस्थाहरू अहिले उल्टिएका छन् ।’
दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ
नाकाबन्दी पुनः लागू भएपछि इरानको प्रमुख आम्दानीको स्रोत तेल निर्यात फेरि प्रभावित भएको छ । अर्कोतर्फ ट्रम्प फेरि कठिन निर्णयको सामना गरिरहेका छन्—युद्धलाई थप विस्तार गर्ने कि इरानको वर्तमान शासन कायम रहने अवस्थामै कुनै सम्झौता स्वीकार गर्ने ।
अमेरिकी विदेश सम्बन्ध परिषद्का वरिष्ठ फेलो इलियट अब्राम्स भन्छन्, ‘अब प्रश्न एउटै छ । त्यो हो, कससँग बढी धैर्य छ ? तेल निर्यात गर्न नसक्ने इरानसँग कि फारसी खाडीको तेलमा निर्भर अमेरिका र अन्य देशहरूसँग ?’
तेलको मूल्य र अमेरिकी राजनीति
हालै अमेरिकी उपभोक्ता मूल्य घटेको तथ्याङ्क सार्वजनिक भएपछि ट्रम्प प्रशासनलाई केही राहत मिलेको थियो । तर युद्ध पुनः चर्किएमा तेलको मूल्य फेरि तीव्र रूपमा बढ्न सक्छ, जसले मुद्रास्फीति बढाउने र नोभेम्बरमा हुने मध्यावधि संसदीय निर्वाचनअघि रिपब्लिकन पार्टीलाई राजनीतिक रूपमा अप्ठ्यारोमा पार्ने सम्भावना छ । ट्रम्पले नाकाबन्दी पुनः सुरु गर्ने घोषणा गरेलगत्तै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झन्डै १० प्रतिशत बढेको थियो, जुन पछिल्लो छ वर्षकै एकै दिनमा भएको सबैभन्दा ठुलो वृद्धि हो ।
सैन्य दबाबले मात्रै समाधान नआउने सङ्केत
विश्लेषकहरूका अनुसार ट्रम्पले प्रयोग गर्न सक्ने अधिकांश दबाबका उपायहरू प्रयोग गरिसकेका छन् । रोजमेरी केलानिड भन्छिन्, ‘उनले गर्न सक्ने र विश्वसनीय रूपमा देखाउन सक्ने धेरै काम गरिसकेका छन् । उनले सैन्य लक्ष्यमा आक्रमण गरे, सरकारी संरचनामा पनि प्रहार गरे, तर त्यसले इरानलाई आत्मसमर्पण गराएन ।’
ट्रम्पले अब तेहरानको दक्षिणमा रहेको कडा सुरक्षा घेराभित्रको ‘पिकएक्स माउन्टेन’ आणविक अनुसन्धान केन्द्रलाई सम्भावित लक्ष्यका रूपमा उल्लेख गरेका छन् । तर त्यो केन्द्रको वास्तविक रणनीतिक महत्व र अमेरिकी हवाई आक्रमणले गहिरो ग्रेनाइट चट्टानमुनि बनेका सुरुङहरू नष्ट गर्न सक्ने क्षमताबारे विज्ञहरूबीच मतभेद छ ।
शान्तिको बाटो अझै टाढा
यदि अन्ततः फेरि अर्को युद्धविराम र प्रत्यक्ष वार्ता सुरु भए पनि हर्मुज जलडमरूमध्य, इरानको आणविक कार्यक्रम र मध्यपूर्वमा इरानको प्रभावजस्ता मूल विवादहरू यथावत् रहनेछन् ।
इलियट अब्राम्सका अनुसार, ‘हर्मुज जलडमरूमध्यका विषयमा नयाँ सम्झौताको सम्भावना अझै छ । तर पुरानो सम्झदारीपत्रमा फर्किने अवस्था भने देखिँदैन ।’
इरान युद्ध पाँचौं महिनामा प्रवेश गर्न लाग्दा ट्रम्पले सोमबार भियतनाम युद्धजस्ता अमेरिकी युद्धहरू वर्षौंसम्म चलेको स्मरण गरेका थिए । तर त्यस्तो लामो युद्धले तत्कालीन राष्ट्रपति लिन्डन बी. जोन्सनको राजनीतिक भविष्य कमजोर बनाएको इतिहासलाई दोहोरिन नदिन ट्रम्प प्रयासरत देखिन्छन् ।
यद्यपि युद्धविराम भंग भइसकेको, सम्झदारीपत्र निष्प्रभावी बनेको र नयाँ द्वन्द्वको जोखिम बढिरहेको अवस्थामा इरान युद्धको अन्त्य अझै पनि धेरै परको लक्ष्यजस्तै देखिएको छ ।





