दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास
प्रवासी नेपाली एकता समाज, यूएईको तेस्रो अधिवेशन सम्पन्न, नारायण आचार्य अध्यक्षमा सर्वसम्मत चयन


प्रवास दुबई, यूएई।
संयुक्त अरब इमिरेट्स (यूएई)मा क्रियाशील प्रवासी नेपाली एकता समाज, यूएईको तेस्रो अधिवेशन भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकाल (२०२६–२०३०) का लागि नारायण आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

यूएईका विभिन्न अमिरातबाट सहभागी भएका सयौं नेपाली, विभिन्न सामाजिक, धार्मिक, राजनीतिक तथा व्यावसायिक संघ–संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी र समाजसेवीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न अधिवेशनले प्रवासी नेपालीबीचको एकता, सहकार्य, सामाजिक उत्तरदायित्व र राष्ट्रिय भावनालाई थप सुदृढ बनाउने सन्देश दिएको छ।

संस्थाले स्थापना कालदेखि नै यूएईमा रहेका नेपालीहरूको हकहित संरक्षण, सामाजिक सद्भाव, मानवीय सेवा तथा नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। तेस्रो अधिवेशनले विगतका गतिविधिको समीक्षा गर्दै आगामी चार वर्षका लागि नयाँ नेतृत्व र कार्यदिशा तय गरेको हो।

कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद ढकालले गर्नुभएको थियो भने सह–सचिव बसन्ती रायमाझीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व तत्कालीन कार्यवाहक अध्यक्ष नारायण आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्साल उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा प्रवास सम्पर्क समिति यूएई, जनसम्पर्क समिति यूएई, प्रवासी नेपाली मञ्च यूएई, जनप्रगतिशील मञ्च यूएई, एनआरएनए–आईसीसी, नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई शाखा, श्रीवैष्णव परिषद् यूएई, छेत्री समाज नेपाल यूएई शाखा, नेपाली बिजनेस काउन्सिल यूएई लगायत विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वैदिक परम्पराअनुसार स्वस्तिवाचन तथा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। त्यसअघि नेपाल राष्ट्रिय गान तथा पार्टी गान प्रस्तुत गरिएको थियो भने यूएईमा विभिन्न समयमा निधन भएका नेपालीहरूको सम्झनामा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
स्वागत मन्तव्य राख्दै सह–सचिव बसन्ती रायमाझीले संस्थाको उद्देश्य, विगतका उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै संस्था सम्पूर्ण प्रवासी नेपालीहरूको साझा हितका लागि समर्पित रहेको बताउनुभयो।
शुभकामना मन्तव्यका क्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले प्रवासी नेपाली एकता समाजले यूएईमा रहेका नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए।
प्रमुख अतिथि तोयानाथ लम्साललाई कार्यक्रमका क्रममा दोसल्ला, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। मन्तव्यका क्रममा उहाँले विदेशमा रहेका नेपालीहरू नेपालको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै प्रवासी नेपालीहरूको एकता, श्रमिक अधिकार, सामाजिक सेवा तथा संस्कृति संरक्षणमा संस्थाले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।

सभापति नारायण आचार्यले आफ्नो सम्बोधनमा विगत कार्यकालमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, सल्लाहकार, पत्रकार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै संस्थाले सीमित स्रोत–साधनका बाबजुद उल्लेखनीय सामाजिक तथा मानवीय कार्यहरू गरेको बताउनुभयो। त्यसपछि उहाँले वर्तमान कार्यसमिति औपचारिक रूपमा विघटन भएको घोषणा गर्नुभयो।
सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचन समिति संयोजक गोपालप्रसाद पराजुलीले सम्पूर्ण निर्वाचन प्रक्रिया सहमति, पारदर्शिता र लोकतान्त्रिक अभ्यासका आधारमा सम्पन्न भएको जानकारी दिँदै नयाँ कार्यसमिति घोषणा गर्नुभयो।
नवनिर्वाचित पदाधिकारीहरू:
- अध्यक्ष : नारायण आचार्य
- वरिष्ठ उपाध्यक्ष : हरि केँडेल
- महिला उपाध्यक्ष : बसन्ती रायमाझी
- उपाध्यक्ष : रामप्रसाद पाण्डे
- महासचिव : रामप्रसाद ढकाल
- कोषाध्यक्ष : सन्जिव आर्यवीर
- सचिव : सागर दाहाल, सन्तोष कुमार न्यौपाने (सम्पत कुमार)
- सह–कोषाध्यक्ष : विजय तिवारी
- सह–सचिव : अर्पणा ढुङ्गाना, बलेन्द्र मल्ल
- प्रवक्ता : कृष्ण खड्का
- सह–प्रवक्ता : मित्रलाल कुँवर
सदस्यहरूमा पार्वती सिग्देल, दिपा सुवेदी, छबीलाल पाण्डे, टिकाराम कोइराला, ज्योति खनाल, रमा शर्मा, स्वेता नेपाल, देवी पाण्डे, बिन्दु पाण्डे, पञ्चकुमारी छेत्री, गीता खरेल, दुर्गा सापकोटा, मणि काश्यप, अनीश सुनार, रमेश गिरी तथा दुर्गाप्रसाद कोइराला सर्वसम्मत चयन भएका छन्।
अध्यक्ष आचार्यको प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष नारायण आचार्यले आफूलाई दिएको विश्वासप्रति सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै प्रवासी नेपाली एकता समाजलाई सम्पूर्ण प्रवासी नेपालीहरूको साझा संस्था बनाउने प्रतिबद्धता जनाउनुभयो।
उहाँले पारदर्शी, उत्तरदायी, समावेशी र सक्रिय नेतृत्वमार्फत संस्थाको गरिमा अझ उचाइमा पुर्याउने तथा यूएईस्थित नेपाली समुदायको हितमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा आयोजकले अधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण अतिथि, विभिन्न संघ–संस्था, सञ्चारकर्मी, स्वयंसेवक तथा सहभागी नेपाली समुदायप्रति धन्यवाद ज्ञापन गरेको थियो। भव्य र अनुशासित वातावरणमा सम्पन्न तेस्रो अधिवेशनले प्रवासी नेपाली एकता समाज, यूएईलाई नयाँ नेतृत्व, नयाँ सोच र नयाँ कार्यदिशा प्रदान गरेको सहभागीहरूको निष्कर्ष रहेको छ।





