भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?


वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँग गरेको समझदारी पत्र (एमओयू)को आलोचना भइरहेका बेला उपराष्ट्रपति जेडी भान्स उक्त सम्झौताको बचाउमा सक्रिय देखिएका छन् ।
इजरायल समर्थक राजनीतिज्ञहरू तथा आलोचकहरूले सम्झौताको विरोध गरिरहेका छन् । स्विट्जरल्यान्डमा इरानसँग भएको वार्ताको नेतृत्व गरेका भान्सले उक्त समझदारीलाई सकारात्मक प्रगतिको संज्ञा दिएका छन् । उनले अन्तिम सम्झौता सफल हुने दिशामा बलियो आधार तयार भएको बताएका छन् ।
यता, अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले भने इजरायलको सार्वजनिक रूपमा आलोचना गरेका छैनन् । बरु उनले इरानी सरकारको आलोचना गर्दै आएका छन् ।
भान्सको अभिव्यक्तिबारे प्रश्न सोधिँदा रुबियोले प्रत्यक्ष प्रतिक्रिया दिन अस्वीकार गरे र यस साता हिजबुल्लाहले इजरायली सुरक्षा चौकीमा गरेको आक्रमणको प्रसङ्ग उल्लेख गरे । यद्यपि, ह्वाइट हाउसले उपराष्ट्रपति भान्स र विदेशमन्त्री रुबियोबिच कुनै मतभेद नरहेको दाबी गरेको छ । विगतदेखि नै दुवै नेताका विदेश नीतिसम्बन्धी दृष्टिकोण फरक रहँदै आएको मानिन्छ ।





